सेयरको लागि नागरिकता बनाउने अत्यधिक



चिरञ्जीवी मास्के, दोलखा ।
जिल्ला प्रशासन कार्यालय दोलखाले सोमवार अहिलेसम्मकै सर्वाधिक चार सय ५० वटा नागरिकता वितरण गरेको छ । त्यसमा ६२ वटा प्रतिलिपि नागरिक रहेको प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले बताए ।
राष्ट्रिय महत्वको माथिल्लो तामाकोसी जल विद्युत आयोजनाले आयोजना स्थल दोलखावासीको लागि एक अर्ब पाँच करोड ९० लाख बराबरको एक करोड पाँच लाख ९० हजार कित्ता (१० प्रतिशत) सेयर खुला गरेपछि केहि दिन देखि जिल्ला प्रशासन कार्यालय दोलखामा नागरिकता बनाउनेको अत्यधिक भीड लाग्ने गरेको छ । आईतवार दुई सय ५० जनाले नागरिकता बनाएकोमा सोमवार चार सय ५० जनाको नागरिकता बनाईएको प्रमुख जिल्ला अधिकारी पाठकले बताए । नागरिकता बनाउनेको भीड बढेपछि जिल्ला प्रशासन कार्यालय दोलखाले अहिले विहान सात बजे देखि बेलुका सात बजेसम्म कार्यालय सञ्चालन गर्दै आएको छ ।
दैनिक १३ घण्टा कार्यालय सञ्चालन गर्दा पनि मानिसले कार्यालय आएकै दिन नागरिकता पाउन कठिन भएको छ । नागरिकता लिन लाईनमा उभिएका दोलखा गौरीशङ्कर गाँउपालिकाको झ्याकु निवासी कुलबहादुर वस्नेतले आफु आईतवार विहानै नागरिकता बनाउन आएको भएपनि सोमवार साँझसम्ममात्र नागरिकता हात पर्छ की भन्ने आशमा रहेको बताए । कार्यालयका कर्मचारीहरुले निरन्तर काम गरिरहेको भएपनि भीड धेरै भएकोले चाँडो पालो नआएको वस्नेतले बताए ।
जिल्ला प्रशासन कार्यालय दोलखाले सामान्यतया दैनिक एक सय भन्दा कम नै नागरिकता वितरण गर्दै आएकोमा तामाकोसी आयोजनामा सेयर भर्नकै लागि नागरिकता लिनेको संख्यामा अत्यधिक बृद्धि भएको प्रमुख जिल्ला अधिकारी पाठकको भनाई छ । अहिले नागरिकता लिन आउनेमा अत्यधिक १६ देखि २० बर्ष उमेर समूहका युवाहरु रहेको प्रमुख जिल्ला अधिकारी पाठकले बताए ।
आयोजनाले एक अर्ब पाँच करोड ९० लाख बराबरको सेयर खुला गरेको भएपनि सोमवारसम्म दुई अर्ब पाँच करोड रकम सङ्कलन भै सकेको माथिल्लो तामाकोसी आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले बताए । शुक्रवारसम्म काठमाडौँमा सङ्कलन भएको रकममात्र एक अर्ब ६० करोड रहेको डा न्यौपानेले बताए । सेयर आवेदन दिनेको संख्याको हिसाबले सोमवारसम्म एक लाख चार हजार जनाले आवेदन दिएको डा न्यौपानेको भनाई छ । भदौ १४ गतेसम्म सेयर आवेदन दिने मिति तोकीएको र आवेदन दिने अन्तिम दिन जन्मने दोलखालीले समेत सेयर आवेदन दिन पाउने भएकोले १० प्रतिशत सेयरको हकदार झण्डै तीन लाख पुग्न सक्ने अनुमान गरिएको प्रवक्ता डा न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्