मध्यनेपाल पर्यटन संयोजकमा पौडेल



हेटौंडा,(नेस) ।
मध्यनेपाल पर्यटन विकास समिति अध्यक्षमा मकवानपुरमा अनन्त पौडेल चयन हुनुभएको छ ।

मकवानपुरको पर्यटकीय गन्तब्य मार्खुको सिम्लाङमा शुक्रबार भएको तेस्रो अधिवेशनले संविधानसभा सदस्य मञ्च नेपालका अध्यक्षसमेत रहनुभएका पौडेलको नेतृत्वमा ३५ सदस्यीय कमिटी चयन गरेको हो ।

समिति उपाध्यक्षमा लमजुङका प्रमोद श्रेष्ठ, महासचिवमा चितवनका विश्वराज सुबेदी, सचिवमा नवलपरासीका धनबहादुर चौधरी र कोषाध्यक्षमा धादिङका धु्रवबहादुर अधिकारी चयन हुनुभएको छ ।

प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेको अधिवेशनले समितिमा आवद्ध सबै ७ जिल्लाका ५÷५ जना प्रतिनिधि समावेश गरी नयाँ कमिटी बनाएको हो । समितिमा मकवानपुर, चितवन, नवलपरासी, धादिङ, गोरखा, तनहुँ र लमजुङ सदस्य छन् ।

अधिवेशन आयोजनाका लागि हेटौंडा उपमहानगरपालिका, थाहानगर, भीमफेदी र इन्द्रसरोवर गाउँपालिकाले सहयोगसहित प्रमुखहरुले सहभागिता जनाएका थिए ।

हाल प्रदेश–३ मा परेका ३ जिल्ला र प्रदेश–४ मा परेका ४ जिल्ला मिलाएर करिब ७ वर्षअघि मकवानपुरको दामनमा समिति गठन भएको थियो ।

पर्यटनअन्तर्गत् ग्रामीण पर्यटन, धार्मिक पर्यटन, पर्यापर्यटनलाई प्राथमिकतामा राखी काम गरिने समिति अध्यक्ष पौडेलले बताउनुभयो । स्थानीय सँस्कृति, समुदायको प्रवद्र्धन गरी विशेष समुदायलाई व्यावसायिक पर्यटन उद्योगतर्फ आकर्षित गर्ने कार्यक्रम ल्याइने उहाँले बताउनुभयो ।

पर्यटनले राष्ट्रिय आय वृद्धि, विदेशी मुद्राको प्रमुख स्रोत, रोजगारी वृद्धि, विश्वमा नेपालको प्रचारप्रसार, घरेलु उद्योगको विकासमा टेवा र साँस्कृतिक आदानप्रदानमा सहयोग गर्ने भएकोले समिति अब क्रियाशील रहेर आवद्ध जिल्लामा पर्यटन विकासको ढोका खोलिने अध्यक्ष पौडेलले स्पष्ट पार्नुभयो ।

नेपाल संघीय ढाँचामा प्रवेश भइसकेको परिप्रेक्ष्यमा समग्र प्रादेशिक तहको पर्यटन प्रवद्र्धनका लागि नयाँ संरचना निर्माण गर्ने, नयाँ परिस्थिति र अन्तर्राष्ट्रिय परिवेशअनुकूल हुने गरी नयाँ पर्यटन नीति बनाएर लागु गर्ने, भुकम्पबाट क्षतिग्रस्त संरचना र सम्पदाको पुनर्निर्माण गर्ने, पूर्वाधारमा लगानी वृद्धि गर्ने, पर्यटन विविधीकरण तथा गुणस्तर वृद्धि, परम्परागत् मौलिक सँस्कृति संरक्षण र प्रवद्र्धन गर्ने, व्यावसायिक, दक्ष जनशक्ति विकास गर्ने, गन्तव्य पहिचान, प्रवद्र्धन तथा बजारीकरणमा जोड दिँदै समिति अगाडि बढ्ने उहाँको दाबी छ ।

‘अवसर र सम्भावनाको भरपुर उपयोग गर्नसके राष्ट्रिय अर्थतन्त्रमा यसको योगदान उल्लेख्यरुपमा बढ्नसक्ने देखिन्छ,’ उहाँले भन्नुभयो–यसका लागि पर्यटकीय सुरक्षा, सेवासुविधाको गुणात्मक सुधार पहिलो शर्त हुनुपर्छ ।

मध्यनेपालका पर्यटन व्यवसायीले यस क्षेत्रमा पर्यटन विकास र प्रवद्र्धनका लागि समितिसँग मिलेर काम गर्ने भएका छन् ।

मध्यनेपाल पर्यटन विकास समितिले यस क्षेत्रका व्यवसायी तथा सरोकारवाला निकायका प्रतिनिधिसँग समन्वय गरी पर्यटन विकासको प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्