मेसीको नाममा ६ हजार गोल



लन्डन, (एजेन्सी)
बार्सिलोनाको तर्फबाट ६ हजार गोल संख्यामा लियोनेल मेसीले आफ्नो नाम लेखाएका छन् ।

मेसीको उक्त गोलपछि स्पेनको घरेलु ला लिगामा बार्सिलोनाले ६ हजार गोल पूरा गरेको हो । मेसीले यसअघि सन् २००९ मा पनि बार्सिलोनाको ५ हजारौं गोलमा आफ्नो नाम लेखाइसकेका छन् । बार्सिलोनाले सन् १९२९ यता ला लिगाको २ हजार ८ सय एक खेलमा ६ हजार गोल पूरा गरेको हो ।

शनिबार राति भएको आलाभेसविरुद्धको खेलमा कप्तान मेसीले फ्रि–किकमा गोल गरेपछि बार्सिलोनाको गोलसंख्या ६ हजार पुगेको हो । उक्त खेलमा बार्सिलोना ३–० गोलले विजयी भएको थियो । बार्सिलोनाको लागि मेसीले २ गोल तथा कौटिन्होले १ गोल गरेका थिए । उक्त खेलमा मेसीको पहिलो प्रहार भने गोलपोस्टको बारमा ठोक्किएर विफल भएको थियो ।

बार्सिलोनाका लागि पहिलो गोल ८९ वर्षअघि १२ फेब्रुअरी १९२९ मा मानुएल पारेराले गरेका थिए । त्यस्तै १ हजारौं गोल मार्कोस औरेलियोले सन् १९५० मा गरेका थिए । त्यसैगरी सन् १९६४ मा पेड्रो जाबालाले २ हजारौं गोल, क्यूनीले सन् १९८२ मा ३ हजारौं गोल, गुलेर्माे आमोरले सन् १९९६ मा ४ हजारौं गोल गरेका थिए । सन् २००९ मा ५ हजारौं गोल पनि मेसीले नै गरेका थिए ।

ला लिगामा अहिलेसम्म सर्वाधिक गोल गर्ने क्लब भने रियल मेड्रिड हो । रियलले २८ सय खेलमा ६ हजार ४१ गोल गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्