झापामा यौनजन्य घटना प्रहरीलाई चुनौती



उत्तम नेपाल, भद्रपुर ।
आपराधिक घटनामध्ये झापामा यौनजन्य घटना चुनौतीको रुपमा रहेको प्रहरीले ठम्याएको छ । जिल्ला प्रहरी कार्यालयमा एसपीको कार्यभार सम्हाल्न केही नयाँ योजना बोकेर आउने गरेका प्रहरी प्रमुखको यस्तो योजना कुनै नयाँ भने हैन । हालै कानून शाखाबाट नयाँ एसपीको रुपमा झापा आएका एसपी भीम प्रसाद ढकालले यौनजन्य घटना हुन नदिन ५० भन्दा बढी सादा पोसाकका प्रहरी समेत परिचालन गरिने नयाँ योजना बनाएका छन् । एसपी ढकाल आएसगै यौनजन्य गतिविधिको घट्ना बढी भएकोले पनि उनले आकस्मिक यस्तो योजना बनाएको हुनसक्छ । बनाइएका यस्ता योजना केही महिनापछि हराएर जाने यसअघिका प्रहरी प्रमुखको कार्यशैलीले प्रमाणित भइसकेको छ ।
यौनजन्य घटना र नियन्त्रण तथा कारबाहीका लागि छुट्टै प्रहरी टोली गठन गरी परिचालन गरिने उनले जनाएका छन् । झापामा हुने अपराधिक घटनामध्ये यौनजन्य घटना प्रमुख चुनौतीको रुपमा देखिएको उनले बताए ।
नियन्त्रण र कारबाहीका लागि दुइसयभन्दा वढी बिशेष प्रहरी परिचालन गरिने उनले जनाए । यौनजन्य घटना हुननदिन मात्र ५० भन्दा बढी सादा पोसाकका प्रहरी परिचालन गरिने उनको भनाइ छ । घट्ना बढी हुने क्षेत्रमा निगरानी बढाइने उनले बताए । रातको समयमा समेत प्रहरीले पैदल या मोटरसाईकलबाट गस्ती गरिने उनले बताए । झापा विशिष्ट जिल्ला भएकोले स्तरीय सुरक्षा व्यवस्था हुन जरुरी रहेको औल्याए । यौनजन्य घट्नासँगै तस्करी,चेलीबेटी बेचबिखन ,लागूऔषधलाइ समेत प्राथमिक्तामा राखिएको उनले बताए । जनतालाइ अनुभूति हुने खाले काम प्रहरीले गर्नु पर्ने अवको आवश्यक्ता रहेको उनको भनाइ छ ।
भदौको पहिलो साताबाट प्रहरी परिचालन गर्नका लागि झापाका सबै प्रहरी पोष्ट, इलाका प्रहरी कार्यालय, प्रहरी चौकी र प्रहरी इन्चार्जहरुलाई निर्देशनात्मक आदेश दिइसकेको उनको भनाइ छ । केहिदिन अघि जिल्ला प्रहरी कार्यालयमा झापाका प्रहरी इन्चार्जहरुको बैठक बसी यौनजन्य घटना बिरुद्धको पन्ध्रदिने प्रहरी अभियानको बिषयमा प्रशिक्षण दिइएको जनाएको छ ।
झापामा असार २७ गते अर्जुनधारा नगरपालिका– ५ का चुडामणि सापकोटाले एक किशोरीमाथि बलात्कारको प्रयास,साउन १६ गते सोही नगरपालिका २ मा १५ वर्षीया किशोरबाटै नाता पर्ने नाबालिकामाथि बलात्कार,साउन २३ गते अर्जुनधारा – ६ की १३ वर्षीया किशोरीमाथि स्थानीय दुइ युवाद्धारा बलात्कारको प्रयास र मेचीनगरपालिका ९ स्थित मागुरमाडीमा बोल्न नसक्ने २१ वर्षीया महिलामाथि २१ भारत दार्जिलिङ् बस्ने ६० बर्षीय कर्ण बहादुर लिम्बुले बलात्कार गरेको घटना छ ।
झापामा आर्थिक वर्ष०७४।७५ मा १ सय ६ जना बिरुद्ध ९९ सय वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएका छन् भने जबरजस्ती करणी उद्योगमा ३४ जना बिरुद्ध ३४ वटा मुद्दा दर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्