पन्छीजन्य वस्तुको तस्करी मौलाउँदै, एक सातामै ३ लाखको पन्छीजन्य वस्तु बरामद



सीताराम चौधरी, कपिलवस्तु ।
पछिल्लो समय कपिलवस्तुको सीमावर्ती क्षेत्रमा पन्छीजन्य वस्तुको तस्करी मौलाउँदै गएको छ । सीमापारी मूल्य सस्तो भएपछि कुखुराको चल्ला र अण्डाको तस्करी मौलाएको हो । प्रहरीले दैनिक रूपमा यस्ता वस्तु बरामद गरे पनि लुकिछिपी तस्करी हुने गरेकाले पन्छीजन्य वस्तु तस्करी नियन्त्रण गर्न प्रहरीलाई समस्या परेको हो ।

चालु आर्थिक वर्ष २०७५।०७६ को पहिलो महिनाको अन्तिम सातामै प्रहरीले कपिलवस्तुको कृष्णनगर क्षेत्रबाट २लाख ९९ हजार ५सय मूल्य बराबरको पन्छीजन्य वस्तु बरामद गरेको छ । जिल्लाको बहादुरगञ्जस्थ्ति इलाका प्रहरी कार्यालयको टोलीले २ लाख ९१ हजार ५सय मूल्य बराबरको ब्रोइलर कुखुराका चल्ला बरामद गरी नष्ट गरेको छ । गत साउन ३० गते प्रहरी टोलीले कृष्णनगर ८, लोहरौलाबाट १लाख २६ हजार ५सय रुपैयाँ बराबरको २३सय ओटा ब्रोइलर कुखुराको चल्ला बरामद ग¥यो । त्यसको दुई दिनअघि साउन २७ गते कृष्णनगर ८, गणेशपुरबाट १लाख ६५ हजार बराबरको ३ हजार चल्ला बरामद गरी नष्ट गरेको प्रहरी नायब निरीक्षक हेरम्भ प्रसाद पाण्डेयले जानकारी दिनुभयो । यसैगरी इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले साउन पछिल्लो साता ८ हजार बराबरको ४० गोटा ब्रोइलर कुखुरा बरामद गरेको प्रहरी निरीक्षक सूर्य बहादुर बोगटीले बताउनुभयो । भारतबाट अबैध रुपमा नेपालतर्फ साइकलमा ल्याउँदै गर्दा विशेष सुराकीका आधारमा प्रहरी गस्ती टोलीले कुखुरा र चल्ला बरामद गरिएको प्रहरीको भनाई छ ।

यसका अतिरिक्त आर्थिक वर्ष २०७४।०७५ मा प्रहरीले सीमावर्ती क्षेत्रबाट ६ लाख ८८हजार २सय मूल्य बराबरको पन्छीजन्य बस्तु बरामद गरेको छ । कृष्णनगरस्थित सशस्त्र प्रहरी र नेपाल प्रहरीले गस्तीका क्रममा सीमावर्ती क्षेत्रबाट कुखुरा, चल्ला र अण्डा बरामद गरेको तथ्यांक सार्वजनिक गरेका छन् । कूल बरामद पन्छीजन्य बस्तुमध्ये ६ लाख १५ हजार ३ सय मूल्य बराबरको ११ हजार ९९० गोटा चल्ला छन् भने ६० हजार ५सय मूल्य बराबरको १९सय ३९ गोटा ब्रोइलर कुखुरा रहेको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी राजस्व तथा भन्सार सुरक्षा गुल्म कृष्णनगरले मात्र आर्थिक वर्ष २०७४।०७५ मा कूल ६लाख ३ हजार ५सय मूल्य बराबरको कुखुरा र चल्ला बरामद गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक मनोज धितालले जानकारी दिनुभएको छ । गस्तीका क्रममा कृष्णनगर आसपासको क्षेत्रबाट २०७४ साउनदेखि असारसम्म ५लाख ६५हजार ५सय मूल्य बराबरको ९हजार ५सय गोटा चल्ला र ३८हजार बराबरको १८सय ६० गोटा कुखुरा बरामद गरेको प्रहरी नायब उपरीक्षक धितालले बताउनुभयो ।
यसैगरी गत आर्थिक वर्षमा इलाका प्रहरी कार्यालय कृष्णनगरले सीमावर्ती क्षेत्रबाट ८४हजार ७सय मूल्य बराबरको पन्छीजन्य बस्तु बरामद गरेको प्रहरी निरीक्षक सूर्य बहादुर बोगटीले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७४।०७५ मा भारतबाट अबैध रुपमा नेपाल भित्राइएका ८३ कार्टुन (२४सय ९० गोटा) ब्रोइलर चल्ला, ७९ गोटा ब्रोइलर कुखुरा र ५२ क्यारेट सेतो अण्डा बरामद गरिएको बोगटीले बताउनुभयो । उहाँका अनुसार कृष्णनगर प्रहरीले ४९हजार ८सय मूल्य बराबरको चल्ला र २२ हजार ५सय मूल्यको कुखुरा पक्राउ गरी नष्ट गरेको छ । यस्तै गत आर्थिक वर्ष १२ हजार ४सय मूल्य बराबरको सेतो अण्डा बरामद गरिएको बोगटीको भनाई छ ।

अबैध पन्छीजन्य वस्तु बरामद हुने क्रम बढे पनि पैठारीमा संलग्न तस्कर भने पक्राउ पर्न सकेका छैनन् । प्रहरीले धेरैजसो बेवारिसे अवस्थामा छाडिएका पन्छीजन्य वस्तु मात्रै बरामद गर्ने गर्छ । प्रहरी आएको थाहा पाउनसाथ तस्कर सामान छाडी फरार हुने गरेकाले पक्राउ गर्न अप्ठ्यारो हुने गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक बोगटीले बताउनुभयो । प्रहरीका अनुसार कृष्णनगर मूल भन्सार नाकाबाट नल्याई तस्करहरूले चोर बाटोबाट नेपाल भित्राउने गरेका छन् ।
तस्करहरुले प्रायजसो कृष्णनगर क्षेत्रको भगवानपुर, लक्ष्मीनगर, कुकुरभुकुवा, विद्यानगर लगायतका सीमा नाका प्रयोग गरी चोरी तस्करी गर्ने गरेको प्रहरीको भनाई छ । भारतमा ४५ रूपैयाँदेखि ५० रूपैयाँमा पाइने कुखुराको चल्लालाई नेपालमा ७० देखि ७५ रूपैयाँ पर्ने भएकाले तस्करी बढेको व्यापारी बताउँछन् । भारतीय चल्ला नेपालमा भित्रिएपछि नेपालमा उत्पादन भएका चल्लाले बजार पाउन छाडेका छन् । चल्लाको तस्करीसँगै सीमावर्ती नाकाबाट अबैध पन्छीजन्य वस्तुको चोरी तस्करी बढेपछि सुरक्षा गस्तीमा निगरानी बढाएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्