पूर्वमा साउन मसान्तसम्म ९४ प्रतिशत रोपाइँ



सरोज यादव, विराटनगर ।
पूर्वमा साउन मसान्तसम्म धान खेती हुने क्षेत्रफलमध्ये ९४ प्रतिशत रोपाइँ भएको छ । धान खेतीका लागि उर्बरभूमि मानिने तराईलगायत पूर्वमा कुल ४ लाख ६६ हजार २ सय ८६ हेक्टरमा धान खेती हुँदै आएकोमा साउन मसान्तसम्म ४ लाख ३३ हजार ३ सय ६६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको क्षेत्रीय कृषि निर्देशनालय विराटनगरले जनाएको छ ।

पूर्वमा हालसम्म सबैभन्दा बढी हिमाली जिल्ला सोलुखुम्बुमा र सिरहामा धान रोपाइँ भैसकेको छ । सोलुखुम्बुमा १ हजार ५ सय २५ हेक्टर क्षेत्रफलमा धान खेती हँुदै आएकोमा हालसम्म १ सय प्रतिशत नै धान रोपाइँ भएको छ भने सप्तरीमा ६० हजार ७ सय ५७ हेक्टर क्षेत्रफमा नै धान खेती भएको कार्यालको तथ्याङ्कमा छ । त्यस्तै सबैभन्दा कम सप्तरीमा ७५ प्रतिशत धान रोपाइँ भएको क्षेत्रीय कृषि निर्देशनालय विराटनगरले जनाएको छ ।

पूर्वमा हालसम्म ९४ प्रतिशत धान रोपाइँ भएको निर्देशनालयका वरिष्ठ अधिकृत राजेन्द्र उप्रेतीले बताए । अहिलेसम्म झापामा ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती हुनेमध्ये ९९ प्रतिशत, मोरङमा ७८ हजार हेक्टर क्षेत्रफलमध्ये ९६ प्रतिशत धान रोपाइँ भएको छ । यस्तै सुनसरीमा ५५ हजार हेक्टर क्षेत्रफलमध्ये ९८ प्रतिशत धान रोपाइँ भैसकेको छ । इलाममा ८७ प्रतिशत, पाँचथरमा ९५ प्रतिशत, भोजपुरमा ८५ प्रतिशत, तेह्रथुममा ८१ प्रतिशत, धनकुटामा ९७ प्रतिशत, उदयपुरमा ९३ प्रतिशत, ओखलढुंगामा ८० प्रतिशत, खोटाङमा ९५ प्रतिशत धान रोपाइँ भैसकेको कार्यालयले जनाएको छ ।
यस्तै ताप्लेजुङमा ९८ प्रतिशत, संखुवासभामा ९७ प्रतिशत रोपाइँ भएको तथ्याङ्कले देखाएको छ । गत वर्ष यही समयमा ८३ प्रशितशमात्र धान रोपाइँ भएको उप्रेतीले बताए । यता कृषकहरुले भने यो बर्ष पर्याप्त पानी पर्नु र मल, बीउको अभाव नभएका कारण धान रोपाइँ समयमै भएको प्रतिक्रिया दिएका छन् । गतवर्ष आएको बाढीका कारण पूर्वमा धान रोपाइँ समयमै हुन पाएको थिएन भने पर्याप्त धान उत्पादन पनि नभएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्