विनोद र सागरले पाए मौका



काठमाडौं, (नेस)
विनोद भण्डारी र सागर पुनलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीमा स्थान दिएपछि दुबैले एसिया कप छनोट खेल्ने मौका पाएका छन् ।

सरद भेषवाकरको औंला भाँच्चिएर टोलीबाट अलग हुनु पर्दा उनको स्थानमा सागरलाई ल्याएको हो । गत नेदरल्यान्डस्मा भएको वानडे सिरिजमा सरदले फिल्डिङ गर्ने क्रममा औंलामा चोट बेहोरेका थिए । उनले दोस्रो वानडे खेल्न पाएनन् । नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटाले सरद चोटबाट मुक्त हुन अझै चार साता लाग्ने भएकोले उनको स्थानमा अरु खेलाडी लिएको बताएका छन् ।


यस्तै शनिबार एसिया कप छनोटको लागि पारस खड्काको कप्तानीमा घोषणा गरिएको १५ सदस्यीय नेपाली टोलीमा विकेटकिपर ब्याटसम्यान विनोदको पनि पुनरागमन भएको छ । करिब १ वर्षपछि राष्ट्रिय टोलीमा अटेका विनोदको विस्फोटक ब्याटिङ भएमा नेपालको ब्याटिङ शसक्त हुन सक्ने संभावना छ । विनोदले प्राय जसो खेलमा मध्यक्रममा आएर विस्फोटक ब्याटिङ प्रस्तुत गर्दै आएका छन् ।

विनोद र सागरले २०१७ डिसेम्बरमा वल्र्ड क्रिकेट लिगअन्तर्गत युएईसँग खेलेयता राष्ट्रिय टोलीमा स्थान बनाउन संघर्ष गरेका थिए । तर खराब प्रदर्शन भएपछि नामिबियामा भएको डिभिजन २ मा दुबै खेलाडी टोलीबाट बाहिरिएका थिए ।

यस्तै मलेसियामा अगस्ट २९ देखि सेप्टेम्बर ६ सम्म हुने एसिया कप छनोट प्रतियोगिताको खेलतालिकाअनुसार नेपालले पहिलो दिनमै ओमानसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै अगस्ट ३० मा युएईसँग, सेप्टेम्बर १ मा मलेसियासँग, सेप्टेम्बर २ मा सिंगापुर र सेप्टेम्बर ४ मा हङकङविरुद्ध खेल्नेछ । समूहको शीर्ष टोलीले युएईमा हुने एसिया कपमा सहभागिता जनाउनेछ ।


नेपालले यसैको लागि श्रीलंकामा तीन अभ्यास खेल खेल्नेछ । सोमबार श्रीलंका जाने नेपालले त्यसपछि अगस्ट २७ मा मलेसियामा प्रस्थान गर्नेछ । श्रीलंकामा नेपालले २२ अगस्टमा आर्मी क्रिकेट टिम, २४ अगस्टमा ब्लूमफिल्ड र २६ अगस्टमा कोल्टसँग अभ्यास खेलमा प्रतिस्पर्धा गर्नेछ ।

नेपाली टोलीः पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), सुवास खकुरेल, विनोद भण्डारी, सोमपाल कामी, वसन्त रेग्मी, सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललित सिंह भण्डारी, अनिल कुमार साह, ललितनारायण राजवंशी, सागर पुन, मोहम्मद आरिफ शेख र रोहित कुमार पौडेल । वैकल्पिक खेलाडीः सुसन भारी, सुनील धमला, प्रदीप ऐरी र किशोर महतो ।

प्रतिक्रिया दिनुहोस्