कर्मचारी कामचोर नबने देश बन्छ



नेपालको हरेक संरचना र क्षेत्र कर्मचारी संयन्त्रबाट संचालित छ । जनप्रतिनिधि भएपनि हरेक गतिविधि र निर्णायक तहमा कर्मचारीकै हालीमुहाली हुन्छ ।

नेपालका सरकारी कर्मचारीको कामचोर प्रवृत्ति, ढिलासुस्ती र अनियमितताका अनगिन्ती खबरहरु सार्वजनिक भइरहेका बेला जाजरकोट अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. पूर्णिमा राईले महिना नबित्दै हाजिर गरेर बेपत्ता भएको खबर यति बेला चर्चामा छ । उसो त, यो खबर नौलो र यस्तो मनोमानी गर्ने राई नै पहिलो पात्र होइनन् । नेपालको कर्मचारीतन्त्रमा अग्रिम हाजिर ठोकेर तलब पड्काइरहेका सयौँ पात्रको प्रवृत्ति सार्वजनिक हुन सकेको छैन ।

देशमा कर्मचारीले नियमित काम नगर्नेे, बिदाको नाममा कार्यक्षेत्रमा अनुपस्थित हुने र एकमुष्ट हाजिर धस्काएर तलब खाने प्रवृत्तिले सेवाग्राही मर्कामा परिरहेका छन् । स्वास्थ्य क्षेत्र आफैँमा संवेदनशील क्षेत्र हो । यस्तो क्षेत्रमा कार्यरत डाक्टर, नर्स, स्वास्थ्यकर्मीहरु झनै जिम्मेवार हुनुपर्छ ।

तर, अग्रिम हाजिर गरेर जिल्ला छाड्नु कति ठूलो दुस्साहस हो ? यसले नेपालका कर्मचारीको मनोदशासमेत प्रस्ट्याउँछ । केही समयअघि कर्मचारीलाई जिम्मेवार बनाउन छड्के अनुगमन गरिएका खबर सार्वजनिक हुन्थे । अहिले छिटपुटरुपमा घूससहित पक्राउ परेका समाचार सुनिन्छन् । तर, प्रभावकारी अनुगमनको अभावमा बेथितिहरु बढिरहेका छन् ।

जनतालाई सहजरुपमा सेवा प्रवाह गर्ने दायित्व कर्मचारीको हो । सोही जिम्मेवारीका लागि सरकारले तलब तथा सेवासुविधा प्रदान गर्छ । नेपाली जनताले प्रत्यक्ष तिरेको करबाटै कर्मचारीले तलब पाउँछन् ।

कार्यालय समयभित्र सेवाग्राहीको काम छिटोछरितो ढंगले सम्पादन गर्ने दायित्व बोकेका कर्मचारीले साधारण कामका लागि पनि झुलाउने, प्रक्रियाका नाममा अनावश्यक दुःख दिने, अनुचित लाभको अपेक्षा राख्ने प्रवृत्तिले कर्मचारीप्रतिको दृष्टिकोण अझै सकारात्मक भइसकेको छैन । दुर्गम क्षेत्र तथा ग्रामीण भेगमा कर्मचारीले नियमित काम नगरेका, काजमा खटिएर सेवा प्रदान नगरेका, विभिन्न बहाना देखाएर सदरमुकाममै केन्द्रित भएका प्रवृत्ति अहिले पनि हाबी छ, जसले गर्दा सेवाग्राही सधैँ मर्कामा पर्दै आएका छन् ।

संघीय प्रणालीअनुसार कर्मचारी व्यवस्थापनमा समेत समस्या देखिएको छ । कर्मचारीहरु सकभर दुर्गम क्षेत्रमा काम गर्न नचाहने, दुर्गममा काम गर्नै परे अग्रिम हाजिर गरेर बेपत्ता हुने प्रवृत्ति अझै नरोकिनु दुर्भाग्य हो । सेवाग्राहीसँग घूस खाने काममात्र अनियमितता होइन, पदीय जिम्मेवारीमा रहेर जिम्मेवारी पूरा नगर्ने, ढिलासुस्ती गर्ने, गैरजिम्मेवारपूर्ण काम गर्नु पनि अनियमितता हो ।

सबैलाई थाहैै छ– जाजरकोट, जुम्लाजस्ता दुर्गम पहाडी क्षेत्रमा स्वास्थ्य सेवा अझैसम्म प्रभावकारी बन्न सकेको छैन । जनशक्ति अभावका कारण अधिकांश पहाडी जिल्लामा स्वास्थ्य सेवा ठप्पजस्तै छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट विशेषज्ञ सेवा प्रदान गर्न गत जेठदेखि काजमा खटिएकी डा. राईले नियमित विशेषज्ञ सेवा प्रदान गरेको भए उनको योगदानको कदर हुने नै थियो । तर, उनी जवाफदेही नहुँदा प्रसूतिलगायत स्त्रीरोगसम्बन्धी विशेषज्ञ सेवा ठप्प हुन पुग्यो ।

कुनै पनि निकायमा रहेर जिम्मेवारी सम्हालेपछि अनुशासनहीन काम गर्न पाइँदैन । एउटा राष्ट्रसेवक कर्मचारीले शनिबार तथा बिदामा समेत हाजिर ठोकेर कार्यक्षेत्रमा अनुपस्थित हुनु लापर्बाहीको पराकाष्ठा नै हो ।

मासिक २ लाख ७७ हजार २ सय ५० रुपियाँ तलब खाने विशेषज्ञ डाक्टरले त यस्तो हर्कत गर्छन् भने न्यून तलबमा काम गर्ने कर्मचारीको मनस्थिति कस्तो होला ?

सबै कर्मचारी घुस्याहा र गैरजिम्मेवार पनि हुँदैनन् । प्रभावकारी अनुगमनबाट कर्मचारीहरुलाई जिम्मेवार बन्न कर लाग्छ । आआफ्नो जिम्मेवारीअनुसार कार्यसम्पादन हुने हो भने जनताले पक्कै पनि परिवर्तनको अनुभूति गर्न सक्नेछन् ।

अब हाजिर गरेका भरमा तलब खाने कर्मचारीलाई निरुत्साहित गर्नुपर्छ । योग्य, सक्षम, जिम्मेवार र इमानदार कर्मचारीलाई प्रोत्साहित गर्दै नियमित अनुगमनबाट कामचोर र अनियमितता गर्ने कर्मचारीलाई कारबाही गर्नु आवश्यक देखिन्छ ।
– दिलीप घिमिरे, म्याग्दी ।

प्रतिक्रिया दिनुहोस्