पूर्ण क्षति घर पनि प्रवलीकरण गर्न मिल्ने सूचिमा



चिरञ्जीवी मास्के, दोलखा ।
भुकम्प पछि क्षतिको विवरण संकलन गर्न गाँउ गाँउमा पुगेका प्राविधिकहरुको असावधानिका कारण दोलखामा पुर्ण क्षति भएको घर लाभग्राहीको सूचिमा नपरेको र परेको केहि घर पनि प्रबलिकरणको लागिमात्र योग्य भनि आएको पीडितहरुले बताएका छन् ।
दोलखा बैतेश्वर गाँउपालिका वडा नम्बर ६ खनियाचौरकी विपन्न पार्वती घिमिरे विनाशकारी भुकम्पले आफ्नो घर पूर्ण रुपमा क्षति भएको तर प्रवलिकरणको लागिमात्र नाम आएको गुनासो गरीन । प्राविधिक दुई पटक आएर नापजाँच गरेको भएपनि बस्नै नहुने गरी क्षति पुगेको घर बनाएर बस्न मिल्ने (प्रवलिकरण) भनेर नाम आएको पार्वतीको गुनासो छ । भुकम्प पछि घरमा क्षति भएकै कारण टहरामा बस्दा २०७२ सालमा पार्वतीको श्रीमानको मृत्यु चिसोका कारण भएको थियो ।
श्रीमानको मृत्यु पछि पाँच जना परिवार पाल्ने जिम्मेवारी मेरो काँधमा छ तर आर्थिक अभावको कारण परिवार समेत राम्रोसंग पाल्न नसकेको बेलामा पूर्ण रुपमा क्षति भएको घर पनि मर्मत गरेर बस्न मिल्ने भनेर आएको छ अब कसरी घर बनाउने – पार्वतीले गुनासो गर्दै भनिन् ।
२०७२ साल देखिनै भुकम्पले पुर्ण रुपमा क्षति भएको घरमा प्लास्टीकले बारबेर गरेर मुश्किलले गुजारा गरिरहेको पार्वती लाभग्राहीको सुचिमा नाम आएपछि प्राप्त हुने तीन लाखले सानो पक्की घरमा बस्ने सपना देखेर बसेकी थिईन । तर प्रवलीकरणमा नाम आएकोले एक लाखमात्र आउने भएकोले घर बनाउने सपना पुरा हुने अवस्था नरहेको पार्वतीको भनाई छ । आफ्नो घर हेर्न अलि बढीनै बुद्धि भएको प्राविधिक आएकोले साहेद बस्नै नहुने गरी भत्कीएको घर पनि मर्मत गरेर बस्न मिल्ने देखेको होला – पार्वतीले भनिन् ।
यसै बीच पत्रकार गोकर्णप्रसाद भण्डारीले सहयोग सङ्कलन गरी पीडित पार्वतीलाई तत्कालको लागि बस्ने वास बनाउन सहयोग पुगोस भनेर ६ बण्डल जस्ता उपलब्ध गराएका छन् । उनले दोलखा उद्योग बाणिज्य संघका अध्यक्ष सुन्दर कार्की र सामुदायी हस्पतालका सञ्चालक अमृत बुढाथोकीसंग सहयोग लिई पीडितलाई उक्त जस्ता उपलब्ध गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्