१७ गतेको प्रतितिधिसभा बैठकमा सभापति चुनिने



काठमाडौं, (नेस) ।
प्रतिनिधिसभाका विषयगत समितिले भदौ १७ गते सभापति चयन गर्ने छ । सभामुख कृष्णबहादुर महराले शुक्रबारको संसद् बैठकमा यो जानकारी दिनुभएको हो । यसअघि भदौ ५ गते सभापति छान्ने जनाइएको थियो ।

प्रतिनिधिसभामा १० वटा समिति रहेका छन् । सभापतिलाई राज्यमन्त्रीसरहको सुविधा हुने छ । राष्ट्रियसभाले भदौ १३ गते सभापति चयन गर्ने जनाएको छ । राष्ट्रियसभाकी नेपाली कांग्रेसकी सचेतक सरिता प्रसाइले सहमतिमा सभापति नछानिए निर्वाचनमा भाग नलिने बताउनुभयो । ‘ निर्वाचनमा नजाऔं भन्ने हो, निर्वाचनमा जाँदा सभापति पाइँदैन, यो अवस्थामा भाग लिन्नौं’ प्रसाइले भन्नुभयो । ५९ सदस्यमध्ये कांग्रेसका १३ सांसद्मात्र रहेका छन् ।

प्रतिनिधिसभाका नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले सहमतिमै सभापति छानिने विश्वास गर्नुभयो । ‘ हामी सहमतिमै सभापति चयन हुनुपर्छ भन्छौं तर उहाँहरुसँग बहुमत भएकाले मानिरहनुभएको छैन’ खाणले भन्नुभयो ।

प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद् छन् । निर्वाचन प्रक्रियामा जाँदा प्रतिनिधिसभामा पनि कांग्रेसले सभापति पाउँदैन । संसदीय परम्परा अनुसार विपक्षीलाई सार्वजनिक लेखा समिति दिने गरिएको छ तर विगतमा सरकार फेरबदल भइरहँदा सत्तापक्षले नै सभापति नछोडेका इतिहास पनि छन् ।

समितिलाई ‘ मिनि पार्लियामेन्ट’ को रुपमा लिइन्छ । समितिको बैठक बसिरहेको छ, जेष्ठ सदस्यले बैठकको सभापतित्व गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्