एथ्लेटिकोले जित्यो सुपर कप



लन्डन, (एजेन्सी)
डिफेन्डिङ च्याम्पियन रियल मेड्रिडलाई हराउँदै एथ्लेटिको मेड्रिडले युईएफए सुपरकपको उपाधि जितेको छ।
एउटै सहरको प्रतिद्वन्द्वी रियल मेड्रिडलाई अतिरिक्त समयमा ४–२ ले पराजित गर्दै एथ्लेटिको मेड्रिडले उपाधि जित्यो। योसँगै पाँचौंपटक युईएफए सुपर कप जित्ने रियलको सपना पूरा हुन सकेन। क्रिस्टियानो रोनाल्डो युभेन्टसमा विस्थापित भएपछि रियलको यो पहिलो खेल थियो।
बुधबार राति इस्टोनियामा भएको खेल निर्धारित समयसम्म २–२ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा एथ्लेटिकोले २ गोल गर्दै जित हासिल गरेको थियो। एथ्लेटिकोलाई च्याम्पियन बनाउन डिएगो कोस्टाले दुई तथा साउल निग्वेज र कोकीले एक–एक गोल गरेका थिए। रियलका तर्फबाट भने करिम बेन्जेमा र सर्जियो रामोसले एक–एक गोल गरेका थिए।
एथ्लेटिकोले खेलको पहिलो मिनेटमा नै अग्रता बनाउन सफल भएको थियो। खेल शुरू भएको ४९ सेकेन्डमै क्लोज रेन्जमा गोल गर्दै कोस्टाले एथ्लेटिकोलाई अग्रता दिलाएका थिए। तर रियलका करिम बेन्जेमाले २७औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए।
खेलको ६३औं मिनेटमा रियलले पेनाल्टीको अवसर प्राप्त ग¥यो। सर्जियो रामोसले पेनाल्टीमार्फत गोल गर्दै रियललाई खेलमा २–१ को अग्रता दिलाएका थिए। तर खेलको ७९औं मिनेटमा एन्जल कोरेरको पासमा कोस्टाले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए।
त्यसपछि निर्धारित ९० मिनेटसम्म दुवै टोली २–२ गोलको बराबरीमा रोकिएपछि खेल अतिरिक्त ३० मिनेटसम्म लम्बिएको थियो। अतिरिक्त समयको ९९औं मिनेटमा साउल निग्वेजले गोल गर्दै एथ्लेटिकोलाई ३–२ को अग्रता दिलाएका थिए। यस्तै १०४औं मिनेटमा कोकीले गोल गरेपछि एथ्लेटिको ४–२ को जित निकाल्न सफल भयो।
योसमेत एथ्लेटिकोले तेस्रोपटक युईएफए सुपर कप जित्न सफल भएको हो। यसअघि सन् २०१० र २०१२ मा पनि एथ्लेटिको युईएफए सुपर कप च्याम्पियन बनेको थियो। युईएफए च्याम्पियन्स लिग विजेता र युईएफए युरोपा लिग विजेताबीच युईएफए सुपरकप हुने गर्दछ।

प्रतिक्रिया दिनुहोस्