भरतपुर महानगरको समीक्षा गोष्ठी काँग्रेस जनप्रतिनिधिद्धारा बहिष्कार



चितवन ।
पदभार ग्रहण गरेको एक वर्षपछि भरतपुर महानगरपालिकामा विवाद चुलिएको छ । भरतपुर महानगरपालिकाले आज (विहीबार) गरेको वार्षिक समिक्षा गोष्ठी कार्यक्रम काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेपछि विवाद छताछुल्ल भएको हो । महानगरले भरतपुरस्थित होटेल स्टार व्याङक्वेटमा समिक्षा गोष्ठी राखेको थियो भने काँग्रेसबाट निर्वा्चित जनप्रतिधिहरु पार्टी कार्यालय कमलनगरमा छलफलमा व्यस्त थिए । दिउँसो १ बजेबाट सुरु गर्ने भनिएको समिक्षा गोष्ठी साँढे १ बजेबाट सुरु गरिएको थियो । गोष्ठीमा स्वागत मन्तव्य व्यक्त गर्दै भरतपुर १० का वडाध्यक्ष अरुणपीडित भण्डारीले काँग्रेसबाट निर्वा्चित जनप्रतिधिहरु कार्यक्रम स्थलमा ढिला भएपनि आईपुग्ने आशा व्यक्त गरे । तर कार्यक्रममा उपमेयर पार्वती शाह ठकुरीसहितका वडा अध्यक्षहरु कार्यक्रममा उपस्थित भएनन् । गोष्ठीमा महानगरले गरेका कार्य र भावी योजनाका विषयमा चर्चा भईरहँदा उता काँग्रेस पार्टी कार्यालयमा भने महानगरमा अब कसरी प्रस्तुत हुने भनेर छलफल चलिरहेको थियो । महानगरको गोष्ठीमा काँग्रेसबाट प्रदेश ३ का साँसद बनेका मिलनबाबु श्रेष्ठ भने उपस्थित भए । तर उनीहरु धेरै बेर कार्यक्रममा बसेनन् । आसन ग्रहणको कार्यक्रम सकिएलगत्तै समय मागेर साँसद श्रेष्ठले आफ्नो मन्तव्य राखे । उनले सो क्रममा महानगरपालिका भित्र समन्व्यको अभाव खड्किएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

उनले काँग्रेसबाट निर्वा्चित जनप्रतिधिहिरुको उपस्थिति नदेखेपछि त्यही समन्वय अभावका कारण यो समस्या आएको बताए । उनले महानगरको विकास निर्माणलगायतका हरेक कार्यमा समन्वय हुनु जरुरी रहेको बताए । एक्लौटी ढंगले अघि बढे विभिन्न समस्या सिर्जना हुने उनको तर्क छ । मन्तव्य व्यक्त गरेलगत्तै साँसद श्रेष्ठ कार्यक्रमबाट बाहिरिएका थिए ।

भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाह ठकुरीले महानगरभित्र काँग्रेसबाट निर्वाचित जनप्रतिधिहरुलाई पेलेर जान खोजिएको बताइन् । आफूहरुलाई महानगरमा केही समययता स–साना कुरादेखि हरेक निर्णयहरुमा पेलेर जान खोजेपछि समस्या उत्पन्न भएको उपमेयर शाहले बताइन् । उनले महानगरमा आफूहरुको नीतिगत कुरामा समेत असहमति राखेको बताइन् । उनले भनिन्–“महानगरमा एकलौटी ढंगले अघि बढ्न खोज्यो, यसमा हाम्रो असहमति छ ।” उपमेयर पार्वती शाहले आफूलगायत जनप्रतिधिहरु पार्टी कार्यलयमा छलफल गरिरहेका बेला कार्यक्रम सुरु गरिएकोले महानगरको गोष्ठीमा उपस्थित हुन नसकेको बताइन् । उपमेयर शाहले पार्टी कार्यालयमा भएको छलफल कार्यक्रममा भनिन्–“हामी आन्तरिक छलफलमा थियौं, उता कार्यक्रम सुरु गरि सकेछ, हामी कार्यक्रम उपस्थित नभएपछि बहिष्कार गरेजस्तै भयो ।” उपमेयर शाहले अब महानगरमा नयाँ ढंगले प्रस्तुत हुने बताइन् ।

प्रतिक्रिया दिनुहोस्