उत्तर कोरिया छाडेर किन भारत जान लागे प्रचण्ड ?



काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उत्तर कोरिया नगएर भारत जाने तयारी गरेको खबर प्राप्त भएको छ । उनले भ्रमणको कार्यक्रम स्थगित गरेको बताइएको छ ।

आगामी सेप्टेम्बर ९ तारिखमा आयोजना हुने उत्तर कोरियाको राष्ट्रिय दिवस समारोहमा सहभागी प्रचण्ड त्यहाँ जाने कार्यक्रम तय भएको थियो । पछिल्लो समय उनले भारत भ्रमणको मिति तय भएको भन्दै यसपटक कोरिया जान नसक्ने जवाफ नेपालस्थित कोरियाली राजदूतावासमा दिएको बताइएको छ ।
असार २५ गते नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत किम योंग हकले केन्द्रीय कार्यालय पेरिसडाँडामा भेटघाट गरेका थिए ।
उत्तर कोरियाको सत्तारुढ वर्कर्स् पार्टीले प्रचण्डलाई उक्त समयमा भ्रमणको निम्तो दिएको थियो ।

नेकपाका नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसमेत सहभागी उक्त भेटमा प्रचण्डले राजदूतलाई उत्तर कोरिया जाने सार्वजनिक रुपमा मिडिया समक्ष बताएका थिए ।

राजदूत किम योंग हकले पाँच महिनाको अन्तरमा प्रचण्डलाई उत्तर कोरियाका भ्रमणका लागि गरेको यो दोस्रो निम्ता थियो । यसअघि उनले २०७५ माघ ७ गते प्रचण्डसँग भेटघाट गरका थिए ।

तत्कालीन माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा पुगेर भेट गरेका राजदूत उत्तर कोरियाका राजदूत किम योंग हकले नेपालमा बाम गठबन्धन बनाएर निर्वाचनमा विजय हासिल गरेकोमा प्रचण्डलाई बधाई दिएका थिए ।

त्यतिबेला नै राजदूत किम योंग हकले सेप्टेम्बरमा हुने उत्तर कोरिया स्थापनाको ७०औं स्थापना दिवसको आतिथ्यताका लागि प्रचण्डलाई निमन्त्रणा गरेका थिए ।

जवाफमा प्रचण्डले बधाईका लागि धन्यवाद दिँदै कोरियन कम्युनिस्ट पार्टीको स्थापना दिवसमा पार्टीको तर्फबाट उच्च स्तरीय प्रतिनिधि मण्डल उपस्थित हुने जानकारी गराएका थिए ।
पछिल्लो समयमा प्रचण्ड कोरिया नजानुलाइ विभिन्न विश्लेषकले आ आफ्नै तरीकाले व्याख्या गरेका छन ।

प्रतिक्रिया दिनुहोस्