थानकोट–चित्लाङ सडकमा काम भन्दा गफ धेरै



हेटौडा ।
तराई–काठमाडौं जोड्ने सबभन्दा छोटो सडकका रुपमा रहेको थानकोट–चित्लाङ सडक निर्माणमा काम भन्दा पनि गफ धेरै हुँदा निर्माण कार्यले तीब्रता पाउन सकेको छैन् । सडक निर्माण गर्न यस वर्ष प्रदेश–३ सरकारले केन्द्रीय सरकारलाई आग्रह गरेको छ । उक्त सडक हाल प्रदेश सरकारको नाममा आए पनि केन्द्रीय सरकारमार्फत् बजेट बिनियोजन भएर निर्माण जारी छ ।

उक्त आयोजनाका लागि नेपाल सरकारबाट १२ करोड ६९ लाख ७९ हजार प्रदेश सरकारलाई सशर्त अनुदान प्राप्त भएको छ । जबकि, उक्त सडकको अनुमानित लागत १ अर्ब १३ करोड छ । अनुमानित लागतको तुलनामा प्राप्त रकम अत्यन्त कम छ । यसमध्ये करिब २६ करोडको काम सम्पन्न भएर सडक विभागबाट भुक्तानी भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

यसबाट अझै करिब ८८ करोड बराबरको काम हुन बाँकी छ । सरकारले चित्लाङ–थानकोट सुरुगमार्ग निर्माण गर्ने गरी प्रारम्भिक कार्य शुरु गरेको अवस्थामा थानकोट–चित्लाङ सडक पनि केन्द्रीयस्तरले बजेट बिनियोजन गरी निर्माण गर्न उपयुक्त देखिएको भन्दै प्रदेश सरकारले केन्द्रीय सरकारलाई पत्र पठाएको छ ।

सडक पूरा गर्न प्रदेशस्तरको बजेटबाट ८८ करोड बिनियोजन गर्न सकिने स्थिति नरहेको तर, प्रदेशका लागि निकै महत्वपूर्ण उक्त सडक केन्द्रीयस्तरबाटै निर्माण कार्य सम्पन्न गरिदिन मुख्यमन्त्री डोरमणि पौडेलको निर्णयअनुसार भौतिक पूर्वाधार मन्त्रालयलाई लिखित आग्रह गरिएको हो । गत कात्तिकमा बसेको बैठकले चित्लाङ–थानकोट गणेशमान मार्गको स्तरोन्नति गर्ने निर्णय गरेको थियो । गणेशमान मार्ग उत्तरी मकवानपुरलाई काठमाडांैसँग जोड्ने सबभन्दा छोटो सडक मार्ग हो ।

रिब तीन दशकअघि निर्माण सुरु गरिएको सडकको महत्वलाई ध्यानमा राखेर सरकारले छुट्टै आयोजना गठन गरी प्राथमिकताको सूचीमा राखेको छ । यसअघि काठमाडौं सडक विभागले थानकोट–चित्लाङ गणेशमान मार्गको सुस्तगतिमा निर्माण गर्दै आएको थियो ।

थानकोट–चित्लाङ सडकमा रहेका ढुंगा, गिट्टी लिलाम रोक्का राख्न चन्द्रागिरी नगरपालिकाले थानकोट–चित्लाङ सडक निर्माण आयोजना कार्यालयलाई पत्राचार गरेको छ । थानकोटस्थित नगरपालिका–४ को गणेशमान सिंह मार्गका लागि पानीघाटदेखि चन्द्रागिरि भञ्ज्याङसम्म बाटो खन्दा निस्केका ढुंगा, माटो र ग्रावेललाई सोही सडकमा उपयोग गर्न पनि नगरपालिकाले उक्त आयोजनालाई निर्देशन दिएको छ ।

उक्त सडकको लम्बाई २२.५ किलोमिटर छ । आयोजनाले सडक स्तरोन्नतिका लागि २०७१÷०७२ देखि काम शुरु गरेको हो । नगरपालिकाले आयोजनालाई लेखेको पत्रमा सडक निर्माण पूर्ण भएपछि बाँकी रहेका ढुंगा, माटो र ग्रावेल स्थानीय सरोकारवालासँग सल्लाह गरेरमात्र बिक्रीबितरण गर्न सकिने उल्लेख गरिएको छ ।

थाहानगरका सरोकारवाला तथा चन्द्रागिरी सचेत महिला सामुदायिक बन उपभोक्ता समितिले संयुक्तरुपमा नगरपालिकामा निबेदन दिएका थिए । यसअघि काठमाडांै र मकवानपुरका स्थानीय सरोकारवालाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निबेदन पेश गरेका थिए ।

सडकमा रहेका ती बस्तु लिलाम बिक्रीका लागि जिल्ला बन कार्यालयले जेठमा बोलपत्र आह्वान गरेकोमा उक्त सडक निर्माण गर्दै आएको किराँतेश्वर निर्माण प्रालिले ठेक्का पाएको छ । उक्त स्थानमा रहेका ती बस्तुको मूल्य ७३ लाख ८३ हजार एकसय ५९ रुपियाँका दरले बिक्री गर्न लागिएको छ । गणेशमान सिंह मार्ग बचाउ संघर्ष समितिका एक सदस्यका अनुसार ती बस्तुको अनुमानित बजार मूल्य १४ करोड रुपियाँसम्म हुनसक्छ ।

 

प्रतिक्रिया दिनुहोस्