केशलिया खोलामा डुबेर एक जना बालक बेपत्ता



सरोज यादव, विराटनगर ।
विराटनगरस्थित केशलिया खोलामा डुबेर एक जना बालक बेपत्ता भएका छन । विराटनगर–१ पोखरीया बुद्धचोकका १६ बर्षिय बालक सजेश रौनियार डुबेर बेपत्ता भएका हुन ।
विराटनगरको बरगाछी पश्चिम वडानम्बर ४ स्थित केशलिया खोलामा ९ जना साथीहरुको समूहमा नुहाउन गएका बालक नुहाउने क्रममा गहिरो दहमा डुबेर बेपत्ता भएका हुन । डुबेका बालक पोखरीया माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत रहेको रौनियार संगै समूहमा गएका विराटनगर ४ का जनम राईले जानकारी दिए । आफुले बचाउने प्रयास गरेपनि बचाउन नसकिएको उनले बताएका छन ।

बालक डुबेको होहल्ला भएपछि स्थानीय सहित प्रहरीको टोलीले खोलाको २ सय मिटर क्षेत्रमा पौडिएर खोजतलास गरेपनि फेला पार्न सकेको छैन । डुबेको बालक खोज्न शसस्त्र प्रहरी बराह बाहिनी मुख्यालय पकलीबाट गोताखोर झिकाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्