जीवनभर निको नहुने घाउ बन्यो बालक अपहरण पछिको हत्या घट्ना



पुष्कर बुढाथोकी, भक्तपुर । काठमाडौं महानगरपालिका वडा नं. ३२ काँडाघारीमा किरियापुत्री बस्ने घरमा बस्दै आउनु भएकी चमेली खड्का छोराको शोकबाट अलिकति पनि माथि उठ्नु भएको छैन । अपहरणकारीले उहाँको छोरा निशान खड्का अपहरण गरि हत्या गरेको सात दिन भईसक्यो तर उहाँको अबस्था भने उस्तै नै छ । छोराको अपहरण भएदेखि आजसम्म खाना नखाएको चमेलीको रातमा निन्द्रा समेत राम्ररी नपर्दा निकै कमजोर भइसक्नु भएको छ ।

“आमा म एकछिन खेलेर आउँछु है, भन्दै खेल्न गएको छोरा फर्कदैन भन्ने के थाहा थियो र ?, मेरो बाबु म कसरी बिर्सनु ।” उहाँको पीडा उत्तिकै झल्कन्छ । मलेशियाबाट फर्कनु भएको उहाँको श्रीमान् गणेश खड्काको अबस्था पनि उस्तै छ । सम्झाउँन आउँने र सान्त्वना दिन भेट्न आउँनेहरुसंग बोल्ने शब्द पनि छैन उहाँहरुसंग । छोरा निशानको किरियामा बसेका गणेश छोराको बिभत्स हत्याले बनेको मनको घाउँ बिर्सन नसक्ने अबस्थामा पुगेको परिवार बताउँछन् ।

अपहरणकारीले अपहरण गरी मारेको यतिका दिन बितिसक्दा पनि यो परिवारको अबस्था बुझ्न र सान्त्वना दिन आजसम्म कुनै सरकारी टोली पुगेको छैन । चमेली भन्नुहुन्छ–“सात दिन भयो, सरकारी टोली कोही आएका छैनन्, मलाई त्यसको वास्ता पनि छैन, म केही बोल्न सक्ने अबस्थामा छैन ।” उहाँ छोराको सम्झनामा भक्कानिएर रुदाँ भेट्न आउँनेहरुको आँखा पनि रसाउँने गरेको छ । ५२ वर्षीय हजुरबुबा जयबहादुर खड्कालाई पनि नातीलाई दागबत्ति दिदाँ उहाँलाई मन थाम्न निकै गाह्रो भएको थियो । बालक निशानका शव जलिरहदाँ आर्यघाटको दृश्य त्यस्तै कठिन थियो ।

गत आईतबार बालकको आमा चमेलीको खाजा घरमा विगत तीनवर्षदेखि नियमित रुपमा खाजाखाना खादै आएका सिन्धुपाल्चोक कार्यथलीका अजय तामाङ्ग र नुवाकोट समरीका गोपाल तामाङ्गले अपहरण गरि बालको बिभत्स हत्या गरेका थिए ।

निशानको अपहरण गरि मध्यपुरथिमि नगरपालिका ७ नगदेश बुद्ध बिहारसंगै रहेको श्याम लवटको आफ्नै डेरामा लगेर ४० लाख फिरौती मागेपछि बालक अपहरण भएको रहस्य खुलेको थियो । अपहरण पछि तामाङ्गद्धयले बालकलाई धेरै पीडा दिएर बिभत्स तरिकाले हत्या गरेकोे प्रहरीको अनुसन्धान र अस्पतालको पोष्टमार्टम रिपोर्टबाट खुलेको छ ।

पोष्टमार्टम रिपोर्टको अनुसार बालकको घाँटीको श्वास नलिको भित्रसम्म रुमाल कोचिएको पाईएको प्रहरीले जानकारी दिएको छ । अपहरणको भोली पल्ट सोमबार बालकलाई पुरेको स्थानबाट प्रहरीले शव झिक्दाको अबस्था पनि निकै दर्दनाक थियो ।

बालकको मुखमा रुपमा र प्लाष्टिक कोचिएको, हात र खुट्टा बाधिएको, घाँटीमा रुमालले कसेको, करिब तीन फिटको खाडलमा टाउको तल बनाएर हातखुट्टा र जिउलाई एउटै डल्लो बनाएर बिभत्स तरिकाले पुरिएको अबस्थामा प्रहरीले बालकको शव झिकेको प्रहरी र स्थानीय प्रतक्ष्यदर्शी बताउछन् ।

बालक परिवारको अबस्था बुझ्न गएन सरकारी टोली

दुई दिदी लगायत आफन्तलाई पनि सम्हाल्न र सम्झाउँन निकै गाह्रो भएको छ । आफन्तहरुले अपहरणकारी बस्दै आएको घरका मालिक श्याम लवट र सोही घरमा बस्नेहरुले बच्चालाई कोठामा राख्दा, बच्चा चिच्याउँदा, कराउँदा, हत्या गर्दा, नजिकै लवट कै बन्दै गरेको नयाँ घरको जगमा लगेर बालकलाई पुर्दा समेत थाहा नपाउँनु कमजोरी भएको बताएका छन् । आफन्तहरुले अपहरण गरेर हत्या गर्नेहरुका लागि सरकारले मृत्युदण्डसम्मको कानून ल्याउनु पर्ने माग समेत गरेका छन् ।

सात दिन बितिसक्दा पनि चमेलीको आँखा ओभाएको मात्र होईन कहिले सम्म नओभाउने हो थाहा छैन । शोक र पीडाले उहाँको अबस्था कमजोर बन्दै गएको चमेलीको भाई रामकाजी सापकोटा बताउँनुहुन्छ । उहाँ भन्नुहुन्छ–“घट्ना भएको दिनदेखि दिदीले आजसम्म खाना खानुभएको छैन, न त राम्ररी सुत्नु नै भएको छ, कमजोर भईसक्यो, सम्झाउँदा, बुझाउँदा पनि आमाको मन न हो कसरी मान्थ्यो र ?”

निशानका बाबु गणेशको मलेशियाबाट सिधै आर्यघाट पुगेर छोराको दाहसंस्कार गरेर आएपछि टोलाउने गरेको उहाँ बताउनुहुन्छ । छोराको शोकले बाबुलाई पनि निकै पिरोलेको छ, उहाँ भन्नुहुन्छ । निशानका साना दुई दिदीहरुको पीडा पनि उस्तै छ । सानो भाई गुमाउँदाको ती साना नानीहरुको आँखा पनि ओभाएको छैन, सापकोटा भन्नुहुन्छ ।

बुढेसकालमा पुग्नु भएको चमेलीका बुबा मिनबहादुर सापकोटाको अबस्था पनि उस्तै छ । नातीको सम्झनामा टोलाउँने, बेलाबेलामा आरुलाई सम्झाउँदै आफू पनि रुने गर्दा पीडा सधैका लागि निको नहुने घाउँ बनेर बसेको उहाँ बताउनुहुन्छ । दिउँसो होस वा राती बेला बेलामा चमेलीले मेरो छोरा भन्दै रुने गरेको बताउँदै चमेलीको परिवार, माईती परिवार र घरका परिवार तीनवटै ठाउँका आफन्त शोकमा डुबेको सापकोटा बताउनुहुन्छ ।

सरकारी टोली र सरकारले पीडितकाबारेमा बेवास्ता गरेको आफन्तको गुनासो छ । चमेलीका भाई रामकाजी सापकोटा भन्नुहुन्छ–“अहिलेसम्म कोही सरकारी टोली भेट्न आएका छैनन, अबस्था बुझ्न पनि कोही आएका छैनन्, अब के गर्ने भन्नेबारेमा केही सल्लाह भएको छैन, १३ दिनको किरिया सकिएपछि यसबारेमा केही कुरा होला, अहिले त्यतातिर ध्यान दिएका छैनौ ।” संचारमाध्यम र मानवअधिकारवादीले पनि अपहरणकारीको प्रहरी ईन्काउण्टरमा मारिएको बारे धेरै चर्चा गरे पनि निर्दोष बालकको अपहरण ,हत्या र परिवारबारे बारेमा धेरै ध्यान नदिएको आफन्तले गुनासो गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले औपचारिक रुपमा पीडित बालकको परिवारलाई भेट्न नगएपनि अनौपचारिक रुपमा सम्पर्कमा रहिरहेको बताउनुभयो । उहाँले भन्नुभयो–“घट्ना प्रति सरकार दुःखी छ, सरकारको सहानुभूति पनि छ, उहाँहरु अहिले शोकमा हुनुहुन्छ, किरियामा हुनुहुन्छ, किरिया सकिएपछि भेटघाट होला ।गएको साउन २० गते आईतबार करिब ५ बजे खेल्न गएका ११ वर्षका निशानको अपहरण गरी हत्या गर्ने गोपाल र अजय तामाङ्ग सोही दिन प्रहरीको ईन्काउण्टरमा मारिएका छन् ।

प्रतिक्रिया दिनुहोस्