कुन हो पर्यटकीय गन्तव्य ?



पर्यटकीय क्षेत्र भन्नेबित्तिकै धेरैको मन मस्तिष्कमा पर्यटकीय गतिविधि हुने गन्तव्य स्मरण हुन्छ। स्वदेशी र विदेशी पर्यटकको आवागमन हुने ठाउँ बुझिन्छ। सर्वोच्च शिखर सगरमाथादेखि वन–जंगल, ताल–तलैया, धार्मिक र अन्य सम्पदाले बाह्रै महिना पर्यटकलाई पर्खिरहेका छन्।

तर अब पर्यटकीय क्षेत्रलाई फरक ढंगले बुझ्नुपर्ने भएको छ। चितवनको शक्तिखोरस्थित तत्कालीन माओवादीका लडाकूको मुख्यालय पनि पर्यटकीय केन्द्र बन्ने रे। सो क्षेत्रलाई युद्ध पर्यटन केन्द्रका रूपमा विकास गरिने नेकपाका अध्यक्ष प्रचण्डले बताएको धरहराले सुन्यो। माओवादी युद्धको ऐतिहासिक अवतरण भएको स्थानका रूपमा शक्तिखोर पर्यटकीय गन्तव्य बन्ने उनको तर्क छ।

विकसित मुलुकमा रहेको ऐतिहासिक र युद्धस्थल पर्यटकीय केन्द्र बनेझैं शक्तिखोर पनि ऐतिहासिक थलो बन्ने कम्रेडको बुझाइ रहेछ। तर कम्रेड आफ्नै नेतृत्वमा भएको जनयुद्धका बेला ध्वस्त बनाइएका पर्यटकीय महत्वका धार्मिक र ऐतिहासिक सरंचना त अझै जीर्ण छन् नि। अनि धेरै ठाउँमा भत्काइएका ऐतिहासिक व्यक्तिका जीर्ण सालिक चाहिँ पर्यटकीय गन्तव्यका रूपमा फर्काउन सकिन्छ÷सकिन्न होला?

कि अमेरिकाले उबेला जापानमा आणविक बम विस्फोट गराएका स्थललाई जस्ताको तस्तै संरक्षण गरेर वर्षेनी लाखौं पर्यटक भित्याएझैं जीर्ण संरचना सुरक्षित गर्ने सरकारको योजना पो हो कि, धरहराले बुझ्न सक्या छैन।

प्रतिक्रिया दिनुहोस्