टेलिकमको वार्षिक आय ४५ अर्ब ५६ करोड, नाफामात्रै १५ अर्ब ६६ करोड



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल टेलिकमले गत आर्थिक वर्षमा ४५ अर्ब ५६ करोड ५८ लाख रुपियाँ आए गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा सो आय २ दशमलव १९ प्रतिशतले बढी हो।

उक्त अवधिमा कम्पनीको नाफा करिब १५ अर्ब ६६ करोड ७५ लाख रुपियाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको नाफा १ दशमलवव ९२ प्रतिशतले बढी देखिएको छ। जसले गर्दा कम्पनीको प्रतिशेयर आम्दानीमा अघिल्लो आर्थिक वर्षको तुलनामा १ दशमलव ९६ ले वृद्धि भई प्रतिशेयर आम्दानी १०४ दशमलव ४५ रुपियाँ पुगेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषबाट खर्च हुने गरी भूकम्प प्रभावित क्षेत्रमध्ये अति प्रभावित चार जिल्लाका ७४७ स्थानमा ब्रोडव्याण्ड इन्टरनेट सेवा सञ्चालन गर्ने जिम्मेवारी कम्पनीलाई दिइएकोमा तोकिएको समय अगावै सम्पूर्ण स्थानमा सेवा सञ्चालनमा ल्याउन सफल भएको छ। गत जेठ मसान्तसम्ममा कम्पनीका टेलिफोन ग्राहक आधार १ करोड ९७ लाख ४७ हजार ४ सय ४५ रहेको छ।

यसैगरी इन्टरनेट ग्राहक आधार १ करोड ६ लाख ५२ हजार ४ सय २९ रहेको छ। २०७४ असार मसान्तको तुलनामा कम्पनीको ग्राहक आधार टेलिफोनतर्फ २१ लाख ४५ हजार २ सय २३ र इन्टरनेटतर्फ २२ लाख २६ हजार ५ सय ३५ ले वृद्धि भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार गत आर्थिक वर्षको शुरूवातमा कम्पनीको बजार हिस्सा ४९ प्रतिशत रहेकोमा गत जेठ महिनामा सो बजार हिस्सा २ प्रतिशतले बृद्धि भई ५१ प्रतिशत पुर्याउन कम्पनी सफल भएको छ।

कम्पनीको महत्वाकांक्षी आयोजनामध्येको एकीकृत विलिङ प्रणालीमा ल्यान्ड लाइन सेवासमेत रुपान्तरित भएपश्चात् गत आर्थिक वर्षमा नै सो आयोजना सम्पन्न भएको छ। हालसम्म करिब एक लाख ९० हजार लाइन नयाँ प्रविधिमा रुपान्तरित भई सेवा सञ्चालनमा आइसकेको छ कम्पनीले जनाएको छ।

चालू आवमा कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषबाट वित्तीय सहयोग प्राप्त हुने गरी मुलुकका प्रदेश १, २, ३ को मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइवर तथा उच्च क्षमतायुक्त उपकरण बिस्तार गर्नका लागि पाँचवटा बोलपत्र आह्वान गरिसकेको छ। यस अनुसार पाँचथरको चियो भञ्ज्याङदेखि धादिङको आरुघाटसम्म कुल २ हजार १ सय ७९ किलोमिटर अप्टिकल फाइवर नेटवर्क विस्तार हुनेछ।

साथै पहाडी जिल्लाका सदरमुकामहरूमा सञ्चालनमा रहेको एडीएसएस आयोजनामार्फत एक हजार किलोमिटर अप्टिकल फाइवर विस्तार कार्य चालू आर्थिक वर्षको प्रथम त्रैमासिकभित्र सम्पन्न गर्न कम्पनीले लक्ष्य लिएको छ।

यसैगरी काठमाडौं–तराई दु्रत मार्गमा नेपाली सेनासँग सहकार्य गरी भूमिगत रुपमा अप्टिकल नेटवर्क विस्तार कार्य थालनी गर्नेछ। साथै प्रदेश १,२,३ बाहेकका क्षेत्रहरूमा समेत कम्पनीले उच्च क्षमतायुक्त ट्रान्समिसन उपकरण जडान गरी पूर्वाधार बिस्तार गर्नेछ।

त्यस्तै जीएसएम मोबाइल सेवामा चालू आवमा पोष्टपेडतर्फ ५९ हजार ८ सय ३० लाइन र प्रिपेडतर्फ २५ लाख ५० हजार मोबाइल लाइन वितरण गर्ने कम्पनीले लक्ष्य लिइएको छ।

प्रतिक्रिया दिनुहोस्