देशभरका दुग्ध किसान आन्दोलित



हेटौंडा, (नेस)
किसानले उत्पादन गरेको दूधको मूल्य घटाइएको भन्दै केन्द्रीय दुग्ध सहकारी संघको आह्वानमा देशव्यापीरूपमा किसान आन्दोलनमा उत्रिने भएका छन्।

देशभरका किसानले साउन २८ गते जिल्लामा आन्दोलन कमिटी गठन गर्ने, साउन २९ गते देशभरका दुग्ध उत्पादक सहकारी संस्था, सहकारी दुग्ध चिस्यान केन्द्र, दुग्ध विकास संस्थानको चिस्यान केन्द्र र प्राइभेट डेरीको दुग्ध चिस्यान केन्द्रमा कालो झण्डासहित मागपत्रको ब्यानर राख्ने, साउन ३० गतेदेखि सम्पूर्ण दुग्ध उत्पादक किसानले दूध बिक्री गर्न आउने समयमा कृषकले हातमा कालोपट्टी बाँध्ने, साउन ३१ गते जिल्लाका कृषक प्रतिनिधि, केन्द्रीय दुग्ध सहकारी संघको सहभागितामा संस्थानमा ज्ञापनपत्र बुझाउने कार्यक्रम छ।

त्यस्तै सोही दिन मन्त्रालयमा ध्यानाकर्षणपत्र बुझाउने तथा माग पूरा नभए दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरिने भएको छ। चितवनका किसान आन्दोलनमा उत्रिँदा सरकारले सुनुवाई नगरेको भन्दै देशव्यापी आन्दोलनमा उत्रने चेतावनी दिइएको हो। केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ अध्यक्ष नारायणप्रसाद देबकोटाले शनिबार हेटौंडामा प्रेस विज्ञप्ति जारी गर्दै पहिले दिइँदै आएको मूल्य दिन माग गर्नुभयो।

किसानले उत्पादन गर्दै आएको दूधको दुग्ध विकास संस्थानले एकलौटीढंगले मूल्य घटाएको र दानाको मूल्य प्रतिकिलो ५ रुपियाँ वृद्धि गरिएको भन्दै किसान आन्दोलनमा उत्रिएका हुन्। देशभरका किसानले हाल संस्थान र उद्योगहरूले सहकारीमार्फत् विभिन्न शीर्षकमा किसानलाई दिएको साबिक मूल्य दिइनुपर्ने, कृषकले उत्पादन गरेको दुग्धको बजार ग्यारेन्टी गरिनुपर्ने, लागतको आधारमा मूल्य समायोजन गरिनुपर्ने, दुग्ध विकास संस्थानलाई पुनर्संरचना गरी सहकारीकरण गरिनुपर्ने, दुग्धको मूल्य निर्धारण समिति बनाइनुपर्ने लगायत माग राखेर उनीहरू आन्दोलमा उत्रिएका हुन्।

दुग्ध उत्पादक संस्थाबीचको अन्तत्र्रिmयाबिना संस्थानले विभिन्न शीर्षकमा दुग्ध उत्पादक सहकारी संस्थामार्फत् किसानलाई दिएको मूल्यमा गरेको कटौतीमा विरोध गरिएको हो। संस्थानबाट लागत मूल्यभन्दा कम मूल्य पाइरहेका किसानको दूधको मूल्य घटाउँदा पेशाबाट किसान पलायन हुने र दूधमा आत्मनिर्भर हुने राज्यको लक्ष्य पूरा हुन नसक्ने भएकाले घटाइएको मूल्य यथावत् राख्न माग गरिएको हो।

संस्थानले एकलौटीढंगबाट कटौती गरेको मूल्यलाई डीडीसीले उत्पादन गरेको दाना खरिद गरेमात्र प्रतिकेजी ३ रुपियाँ छुट दिने भनी गरिएको निर्णय संंघले मानेको छैन। दुग्ध उत्पादक किसानले अन्य दाना उद्योगसँग खरिद गरिरहेको दानाभन्दा दुग्ध विकास संस्थानले अतिरिक्त रकम दानामा सहुलियत दिँदाको अवस्थामा समेत हाल बजारमा पाइरहेको दानाभन्दा पाँच रुपियाँ प्रतिकिलो महंँगो भएकोमा आपत्ति जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्