सशस्त्रद्वारा तीन सातामा ४ लाखको अबैध सामान भन्सार चलान



सीताराम चौधरी, कपिलवस्तु ।
सशस्त्र प्रहरी कृष्णनगरले शनिबार १ लाख २८ हजार रकम बराबरको अबैध कपडा बरामद गरेको छ । विशेष सुराकीका आधारमा सशस्त्र प्रहरी राजश्व तथा भन्सार सुरक्षा गुल्म कृष्णनगरको गस्ती टोलीले शिवराज नगरपालिकाको जवाभारीबाट कपडा बरामद गरेको हो ।
सशस्त्र प्रहरी नायब उपरीक्षक मनोज धितालको कमाण्डमा खटिएको गस्ती टोलीलाई देखेर कपडा तस्कर भागेपछि बेवारिसे अवस्थाबाट कपडा बरामद गरिएको गुल्मपति धितालले बताउनुभयो । बरामद गरिएको कपडामा साडी, लेडिज कुर्ता, सुरुवाल, कोरा कपडा रहेको धितालले जानकारी दिनुभयो । कपडा लिन कोही पनि नआएपछि शनिबार नै कृष्णनगर भन्सार कार्यालय चलान गरिएको उहाँले बताउनुभयो ।
साउन १ गते कार्यालयमा हाजिर हुनुभएको धितालले २६ दिनमै ४ लाख बढीको अबैध सामान बरामद गरी भन्सार चलान गरिएको बताउनुभयो । गस्ती अभियानकै क्रममा भारतबाट भन्सार छलेर नेपाल भित्राइएका विविध सामान बरामद गरिएको उहाँले बताउनुभयो । सीमा नाकामा अबैध चोरी, तस्करी मौलाएको भन्दै कडा निगरानी बढाएको उहाँले जनाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्