सिक्टा सिंचाई आयोजनामा अख्तियारले विस्तृत अनुसन्धान गर्ने



नेपाल समाचारपत्र, काठमाडौं ।

सिक्टा सिंचाई आयोजनाको मुल नहरको काममाथि गुणस्तरको प्रश्न उठेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत अनुसन्धान गर्ने भएको छ ।

आयोगले यसअघि उक्त आयोजना निर्माणमा हालसम्म भएको काम कारबाहीको विषयमा यसअघि गरेको अनुसन्धान कार्यलाई एकीकृत गरी विस्तृत अनुसन्धान कार्यलाई तीब्रता दिने निर्णय भएको हो ।

शुक्रबार भएको निर्णय अनुसार उक्त विषयमा अनुसन्धान गर्न आयोगका प्राविधिक सहसचिवको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान टोली गठन गरिएको छ । उक्त टोली स्थलगत अध्ययन गर्ने गरी विस्तृत अनुसन्धानको कार्य अगाडि बढाईसकेको आयोगले जनाएको छ।

आयोजनाको मूल नहर पटक–पटक भत्किएकाले नहरको गुणस्तरमाथि नै प्रश्न उठेको विषयमा आयोगको गम्भिर ध्यानाकर्षण भएको र विस्तृत अनुसन्धान गर्न टोली गठन गर्नु परेको आयोगका प्रवक्ता रामेश्वर दंगालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्