महँगा गोलकिपर बने केपा



लन्डन, (एजेन्सी)
चेल्सीले स्पेनिस ला लिगा क्लब एथ्लेटिको बिल्वाओका गोलकिपर केपा अरिजाबालागालाई विश्व किर्तिमानी रकममा क्लब भित्रयाएको छ ।

चेल्सीले समर ट्रान्सफरको अन्तिम दिन गोलकिपर केपालाई ७२ मिलियन पाउन्डमा सात वर्षका लागि क्लबमा अनुबन्ध गरेको हो । चेल्सीमा अनुबन्ध भएसँगै केपा विश्वकै सबैभन्दा महंगा गोलरक्षक समेत बनेका छन् । यसअघि लिभरपुलले ब्राजिलियन गोलरक्षक एलिसन बेकरलाई कीर्तिमानी ६७ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो । उनको यो विश्व कीर्तिमानी रकमलाई २० दिनमै केपाको सम्झौताले छायामा पारेको छ ।

चेल्सीले आफुलाई अनुबन्ध गरेपछि केपाले क्लबका लागि सक्दो सहयोग गर्ने बताए । पहिलो रोजाईका बेल्जियन गोलकिपरका लागि थिवाउट कोर्टोइसले क्लब छाड्ने संकेत गरेपछि लन्डन क्लब चेल्सीले स्पेन तथा विल्वाओका २३ वर्षीय युवा गोलकिपर केपालाई विश्व कीर्तिमानी मुल्य खर्चिएको हो ।

कोर्टोइस रियलमा
केपा चेल्सीमा भित्रिएपछि लन्डन क्लबका गोलकिपर थिबाउट कोर्टोइसले रियल मेड्रिडसँग बिहीबार नै ६ वर्षको सम्झौता गरेका छन् । कोर्टोइसलाई रियलले ३५ मिलियन पाउन्डमा सम्झौता गरेको हो । रियलले उनलाई बिहीबार सान्टियागो बर्नबेउमा सार्वजनिक समेत गरेको थियो । रियलले सामाजिक सञ्जाल ट्वीटरमा ‘स्वागत कोर्टोइस’ भनेर ट्वीट गरेको छ ।

रुस विश्वकपमा उच्च प्रदर्शन गरेपछि रियलले कोर्टिइसमाथि नजर लगाएको थियो । २६ बर्षीय बेल्जियन गोलकिपरले सन् २०११ मा जेन्कबाट चेल्सी आएका थिए । रियलले उनलाई अनुबन्ध गरेपछि क्रोएसियन मिडफिल्डर माटियो कोभाचिचलाई भने लोनमा चेल्सी पठाएको छ ।

उनलाई ३ वर्षअघि इन्टरनाजियोनल क्लबबाट २७ मिलियन पाउन्डमा रियलले अनुबन्ध गरेको थियो । क्लबसँग असन्तुष्ट हुँदै अभ्यास सत्रमा नै उपस्थित नभएपछि कोभाचिचलाई रियलले लोनमा चेल्सी पठाउने भएको हो ।

प्रतिक्रिया दिनुहोस्