बालबालिका बोकेको गाडीमा भएको आक्रमणमा दर्जनौँको मृत्युः रेडक्रस



यमन ।
यमनी विद्रोहीको नियन्त्रणमा रहेका उत्तरी क्षेत्रमा बालबालिका बोकेको गाडीमा आक्रमण हुँदा बिहीबार दर्जनौँ व्यक्तिको मृत्यु भएको रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) ले जनाएको छ । उक्त घटनामा कैयौँ बालबालिका घाइते भएको बताइएको छ ।
आइसीआरसीले आफ्नो ट्वीटर पेजमा लेखेको छ, “दहमयान बजारतर्फ बालबालिकालाई लिएर हिँडेको बसमा हवाई आक्रमण भएपछि उत्तरी सादास्थित आइसीआरसीद्वारा सहयोगप्राप्त एक अस्पतालमा दर्जनौं मृतक बालबालिकालाई पु¥याइएको छ । घटनामा दर्जनौं व्यक्ति घाइते भएका अस्पताल स्रोतले जनाएको पनि ट्वीटरमा उल्लेख छ ।”

सन्देशमा थप भनिएको छ, “अन्तराष्ट्रिय मानवीय कानूनले युद्धमा गैरलडाकू व्यक्तिमाथिको आक्रमण निन्दनीय मानिन्छ । गैरलडाकू व्यक्तिको सुरक्षा युद्धको अनिवार्य शर्त हो ।”
यमनी हुथी विद्रोहीद्वारा सञ्चालित अल मसिरा टेलिभिजनले घटनामा ३९ जनाको मृत्यु भएको र ५१ जना घाइते भएको जनाएको छ । उक्त टेलिभिजनअनुसार मृतक तथा घाइतेमध्ये अधिकांश बालबालिका रहेका छन् ।
यमन सरकारलाई सहयोग गर्दै आएको साउदी नेतृत्वको गठबन्धन बिहीबारको आक्रमणमा दोषी रहेको हुथी विद्रोहीको दावी छ ।
घटनामा कसको हात रहेको थियो र क्षतिबारे तत्काल पुष्टि गराउन कठीन रहेको पनि आइसीआरसीले जनाएको छ ।
गठबन्धनबाट यसबारे तत्काल कुनै प्रतिक्रिया आएको छैन ।

राष्ट्रसंघको बालबालिकाको अधिकारका लागि काम गर्ने निकाय यूनिसेफले ‘दर्जनौँ बालबालिकाको मृत्युहुनेगरी भएको भन्ने प्रारम्भिक रिपोर्टले यूनिसेफ चिन्तित बनेको’ बताएको छ ।
यूनिसेफका यमनका लागि आवासीय प्रतिनिधिले ट्वीटमा भन्नुभएको छ, “किन बालबालिका सैनिक निशानामा परेका छन् । किन उनीहरू मारिन्छन् यसको जवाफका लागि मसँग केही शब्द छैनन् ।”
गत हप्ता बिहीबार नै भएको एक आक्रमणमा ५५ सर्वसाधारणको मृत्यु भएको थियो भने १७० जना घाइते भएका आइसीआरसीले बताएको छ ।

गठबन्धनले ती आक्रमणमा आफ्नो सम्लग्नता नरहेको बताउँदै आएको छ । यमनमा सन् २०१५ देखि शुरु भएको युद्धका कारण अहिलेसम्म १० हजारभन्दा बढी मानिसकोे मृत्यु भएको राष्ट्रसङ्घको तथ्याङ्कमा उल्लेख छ । राष्ट्रसङ्घले यमनमा मानवीय सङ्कट विश्वकै नराम्रो अवस्थामा रहेको जनाएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्