जनताका लागि खटिने प्रहरीकै भवन जीर्ण



विनोद सिंह विष्ट, बैतडी ।

देश र जनताको लागी शान्ति सुरक्षाका लागी खटिने प्रहरी नै विभिन्न समस्या भोग्दै आएको छ । बैतडीका विभिन्न स्थानका प्रहरीचौकी बर्षातको समयमा चुहिने भएपछि समस्या भएको हो ।

भाडाका कच्ची घरमा रहेका प्रहरी भवन चुहिने समस्या रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिनुभयो । जिल्लामा रहेका १९ ओटा प्रहरीचौकी भाडाको भवनमा सञ्चालनमा रहेका छन् ।

उहाँले भन्नुभयो“ भाडामा लिएका घरहरु पनि धेरै जसो जीर्ण अवस्थामा रहेका छन्” भाडाका घरमा बसेका प्रहरीचौकीका छाना चुहिने हुँदा धेरै समस्या भएको उहाँले बताउनुभयो ।

सदरमुकाम नजिकैका बाराकोटा,थालिगडा, सतबाँझका प्रहरीचौकी भाडाको भवनमा छन् । ती पनि जीर्ण भवनमा रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै नागार्जुन, खोचलेक,गोकुलेश्वर, कुलाउ, शंकरपुर,रोडीदेवल, कुस्मौदघाट, महाकाली, हल्दुविनायक, शिवलिंग र धर्मघाट प्रहरीचौकी भाडामा भवनमा बसेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रहरी नै जिर्ण तथा चुहिने भवनमा बस्नुपर्दा शान्ती सुरक्षा कायम गर्न कठिनाई हुने गरेको बताईएको छ । प्रहरीसंग आफ्नै भवन नहुँदा पनि यो समस्या आएको जनाईएको छ । भाडाको भवनमा बस्नुपर्दा चाहेअनुसारको भवन नमिल्ने गरेकोले समस्या भएको हो ।

समाजमा शान्ति सुरक्षा कायम गर्ने प्रहरी आफै असुरक्षित हुँदा शान्ति सुरक्षा कायम गर्न असहज हुँने गरेको छ । बैतडीमा अधिकांश प्रहरीचौकी जीर्ण भवनमा सञ्चालन भईरहँदा समस्या हुने गरेको हो । ग्रामीण क्षेत्रका अधिकांश प्रहरीचौकी भाडाको भवनमा सञ्चालनमा रहेका र ती जीर्ण अवस्थामा रहेकाले समस्या भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रहरीसंग आफ्नो भवन नहुँदा कुनै ब्यक्तीलाई हिरासतमा राख्दा समेत भवन अभावमा आफैसंग राख्नुपर्ने बाध्यता रहेको दुर्गमका प्रहरी चौकीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्