एक्सरे सेवा मापदण्डविपरीत संचालन



बुटवल,। बुटवलका अधिकांश एक्सरे सेवा मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले बुटवलमा गरेको अनुगमनका क्रममा विभिन्न अस्पताल, निजी क्लिनिक, पोलिक्लिनिकलगायतमा एक्सरे सेवा उपलब्ध गराउँदैआएको जनशक्तिले अनुभवका आधारमा मात्र काम गरिरहेको जनाएको छ ।

“मैले पाँच वर्षको अनुभवका आधारमा मात्र काम गरिरहेको छु,” बुटवलस्थित सन्तोष मेडिकलको एक्सरे सेवामा कार्यरत मीनबहादुर जिसीले भन्नुभयो । उहाँले एक्सरे गर्न जानेको व्यक्तिसँग सिकेका आधारमा सो काम गरेको बताउनुभयो ।

बुटवलस्थित मंगलम पोलिक्लिनिकको एक्सरे सेवामा कार्यरत हार्दिककुमार श्रेष्ठले सिएमए पास गर्नुभएको छ । उहाँले एक्सरे सेवामा नियमित काम गर्दै आउनुभएको छ । सो पोलिक्लिनिक बिनादर्ता अवैधरूपमा सञ्चालनमा छ । सो पोलिक्लिनिकका कार्यकारी निर्देशक मनोज पन्तले दर्ता प्रक्रियामा रहेको बताउनुभयो । परिषद्ले अनुगमन गरेका केही ठाउँबाहेक अधिकांश एक्सरे सेवा बन्द गरिएको छ ।

बुटवलको मेडिटेक इन्टरनेशनल अस्पताल प्रालि र बुटवल हस्पिटल प्रालिमा पनि दक्ष जनशक्ति छैन । दक्ष जनशक्ति नहँुदा अनुभवका आधारमा एक्सरे सेवा प्रदान गरिँदै आएको छ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्का निरीक्षणविज्ञ एवं नेपाल रेडियोलोजिकल सोसाइटीका अध्यक्ष मुकेशकुमार झाले परिषद्मा दर्ता नभइ एक्सरे सेवा सञ्चालन गर्न नपाउने बताउनुभयो । उहाँले बुटवलको एक्सरे सेवाको गुणस्तरीय नभएको बताउनुभयो । बिरामीको स्वास्थ्यमा खेलवाड गरिएको उल्लेख गर्दै उहाँले बुटवलमा रेडियोग्राफरको संख्या पनि न्यून रहेको बताउनुभयो ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्का निरीक्षणविज्ञ नारायण शर्माले बुटवलका एक्सरे सेवा कक्ष मापदण्डअनुसार सञ्चालन नभएको बताउनुभयो । एक्सरे सेवा दिँदै आएका सञ्चालकले एक्सरे कक्षको क्षेत्रफल बढाउने, एक्सरे सेवामा रेडियोग्राफर राख्ने र एक्सरे सेवा दिँदा विकीरण ९रेडिएसन०बाट बच्न सतर्कता अपनाउने आश्वासन दिएका छन् । परिषद्ले बुटवलको लुम्बिनी नर्सिङहोम, तिलोत्तमा अस्पताल, पुष्पा फार्म, लुम्विनी एक्सरे सेवा र आस्था एक्सरे सेवाको पनि अनुगमन गरेको थियो ।
रासस

प्रतिक्रिया दिनुहोस्