जुडोमा नेपाललाई २ स्वर्ण



नर्थ बैंकक थाइल्यान्ड युनिभर्सिटी जुडोका पदक विजेता बायाँबाट देविका खड्का, पुनम श्रेष्ठ, इन्द्रबहादुर श्रेष्ठ र मनीता श्रेष्ठ प्रधान पदकसाथ ।

काठमाडौं, (नेस)

नेपालले थाइल्यान्डको बैंककमा भएको नर्थ बैंकक थाइल्यान्ड युनिभर्सिटी जुडो च्याम्पियनसिपमा २ स्वर्ण जितेको छ ।

स्वर्ण बाहेक नेपालले थप १ रजत र १ कांस्य पनि जितेको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् । पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ र महिला ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधानले नेपाललाई स्वर्ण दिलाए । १५ प्रतिस्पर्धी सहभागी स्पर्धामा इन्द्रले ४ खेलाडीलाई पराजित गरेका थिए । उनले थाइल्यान्डका २ तथा युएई र जापानका खेलाडीलाई पराजित गरेका हुन् ।

११ खेलाडी सहभागी महिला ५७ केजीमुनि मनीताले भियतनाम, सिंगापुर, मलेसिया र थाइल्यान्डका खेलाडीलाई हराइन् । महिला ७८ केजीमुनि पुनम श्रेष्ठले रजत जितिन् । पुनमले लाउसकी खेलाडीलाई पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरेकी थिइन् । फाइनलमा पुनम थाइल्यान्डकी खेलाडीसंग चुकिन् । त्यस्तै महिला ५२ केजीमुनि देविका खड्काले कांस्य हात पारिन् ।

गत संस्करणमा नेपालले २ कांस्य जितेको थियो । इन्द्र र उमेश मगरले कांस्य हात पारेका थिए । दुई दिने उक्त प्रतियोगिता आइतबार सम्पन्न भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्