प्रथम मिस्टर वडि विल्डिङ्गको उपाधी मनोजलाई



विजय नेपाली, पोखरा, (नेस)
एनएफ विएफ प्रथम मिस्टर पोखरा स्टेट लेभल ४–५ वडि विल्डिङ्ग च्याम्पियनसीपको उपाधी मनोज केसीले जितेका छन् ।

६५ केजी तौल समूहका मनोजले ओभरअलमा अन्य पाँचवटा तौल समूहका विजेतालाई पछि पार्दै उपाधि जितेका हुन् । उनले कास्की जिल्ला वडि विल्डिङ तथा फिटनेस संघको आयोजनामा भएको एनएफ विएफ प्रथम मिष्टर पोखराको टाईटलसहित नगद ५० हजार रुपैयाँ हात पारे ।

पोखरा सभागृहमा भएको ग्राण्ड फिनालीमा ३६ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । ६ वटा तौल समूहमा भएको प्रतिस्पर्धाबाट विजेताले ओभरअलमा प्रतिस्पर्धा गरेका थिए ।

५५ केजी तौल समूहमा निरजंग सुब्बा गुरुङ प्रथम, मोती गुरुङ दोस्रो र कृष्ण अधिकारी तेस्रो भएका थिए । ६० केजी तौल समूहको प्रतिस्पर्धामा भने मौलादिन मियाँ पहिलो, प्रवेश गुरुङ दोस्रो र सुरेन्द्रप्रसाद बर्मा तेस्रो स्थानमा रहे । ६५ केजी तौल समूहमा मनोज केसी प्रथम, श्रीधर दर्लामी मगर दोस्रोे र विवेक गुरुङले तेस्रो ।

७० केजी तौल समूहमा निशान राना प्रथम, खिमेश गुरुङ दोस्रो र राजकुमार ध्वजु तेस्रो र ७५ केजी तौल समूहमा सुजन श्रेष्ठ प्रथम, सिजन गुरुङ दोस्रो र किरण श्रेष्ठ तेस्रो भएका थिए भने ७५ केजी माथिको प्रतिस्पर्धामा कृष्ण विक प्रथम, शंकर विक दोस्रो र भरत सुवेदी तेस्रो हुँदै प्रथम दोस्रो र तेस्रो हुने खेलाडिले क्रमशः स्वर्ण, रजत र कास्य पदकका साथै नगद १० हजार ,७ हजार र ५ हजार रुपैयाँ प्राप्त गरेका छ्न ।

संघले आयोजना गरेको एनएफबीएफ फष्ट मिष्टर पोखराको उपाधिको लागि ५५, ६०, ६५, ७०, ७५ र ७५ केजी माथिको तौल समूहमा खेलाडीले प्रतिस्पर्धा गरेका थिए । कास्की जिल्ला बडिविल्डिङ्ग संघका अध्यक्ष राजकुमार थापाको अध्यक्षतामा भएको प्रतियोगितामा बोल्दै संसद सुर्यबहादुर केसिले पोखरा खेलकुदको सहर भएकाले खेलकुद प्रतियोगिताहरु हुनु पर्ने बताए ।

प्रतियोगितामा कास्की जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष दिपकबहादुर गोदार, मुख्य निर्णायक शिवलाल श्रेष्ठ, नेप्लिज फेडेरेशन अफ बडि बिल्डिङ एण्ड फिटनेस (एनएफबीएफ) का अध्यक्ष लोकेन्द्र परियार लगायतले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा विभिन्न जिल्लाका ५७ खेलाडी सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्