भवनको नमार्णसँगै उच्च माध्यामिक शिक्षा सञ्चालनको तयारी



प्रताप बानियाँ, म्याग्दी  ।

चारकोठे विद्यालय भवनको निर्माणकार्य तीव्र गतिमा अगाडि बढेको छ । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा रहेको जनकल्याण माध्यमिक विद्यालयमा निर्माणाधीन विद्यालयको चारकोठे भवनको हालसम्म ५० प्रतिशत निर्माणकार्य सकिएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीको आर्थिक सहयोगमा ढलानसहित पक्की भवनको निर्माणको काम अगाडि बढाइएको हो । गत आर्थिक वर्ष २०७४/७५ को माघ महिनादेखि विद्यालय भवनको निर्माणकार्य सुरु गरिएकोमा हालसम्म ५० प्रतिशत काम सम्पन्न भएको विद्यालयले जनाएको छ । शिक्षा विकास तथा समन्वय इकाइमार्फत कुल ३६ लाख रुपैयाँको लागतमा चारकोठे भवन बनाउन लागिएको छ ।

भवन निर्माणका लागि बागलुङका निकेश श्रेष्ठले ठेक्का लिएर निर्माणको काम गरिरहेका छन् ।

विद्यालय र समुदायले बेहोनुपर्ने श्रमदानमध्ये विद्यालयबाट ढुङ्गा, काठ र जस्तापाता उपलब्ध गराइएको विद्यालयका प्रधानाध्यापक कमलप्रसाद पौडेलले जानकारी दिनुभयो । विद्यालय परिसरमा निर्माण भैरहेको चारकोठे भवन दुईतलाको बन्ने भएको छ । उक्त भवनको २ ओटा कोठामा कक्षा ११ र १२ लाई पढाइने तथा २ वटामा लाइब्रेरी र कम्प्युटर ल्याब सञ्चालन गरिने तयारी छ ।

गत वर्षको असार मसान्तसम्म ढलानको काम सक्नुपर्ने भए पनि समयमै निर्माण सामाग्री ढुवानी हुन नसक्दा केही ढिलाई हुन गएको विद्यालयको भनाइ छ । बेनी–अर्थुङ्गे हुँदै पाखापानी जोड्ने सडकको महारानीथान भन्दामाथि सडक ढलानको कामले सडक बन्द भएकाले भवन निर्माणका लागि आवश्यक रड, सिमेन्टलगायत निर्माणका सामग्रीहरु समयमै लैजान नसक्दा ढलानकार्य ढिलो भएको प्रधानाध्यापक पौडेलले बताउनुभयो ।

निर्माणाधीन भवनको निर्माणकार्य आगामी असोज महिनामा सक्ने गरी काम अगाडि बढेको उहाँको भनाइ छ । निर्माण सम्पन्नपछि उक्त भवनमा आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ को पढाई हुनेछ ।

कक्षा ११ र १२ सञ्चालन गर्नका लागि यसअघि नै विद्यालय व्यवस्थापन समितिको वैठकले निर्णय गरी बेनी नगरपालिका र सम्बन्धित निकायमा आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छ ।

वि.सं. २०१४ सालमा स्थापना भएको विद्यालयमा हाल १६ जना शिक्षक/कर्मचारी कार्यरत छन् । तत्कालीन समयमा प्रस्तावित मावि हुँदै सञ्चालनमा आएको विद्यालय पछिल्लो समय सबै प्रक्रिया पुरा गरी कक्षा ११ र १२ सञ्चालन गर्ने अवस्थामा पुगेको छ । विगतका समयमा भैलो खेलेर विद्यालयलाई आवश्यक आर्थिक स्रोतको यवस्थापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्