इंग्ल्यान्डको भारतमाथि सनसनी जित



एड्जबास्टन, (एजेन्सी)
एड्जबास्टनमा भएको पहिलो टेस्टमा ३१ रनको सनसनी जित हात पार्दै इंग्ल्यान्डले भारतविरुद्धको ५ खेलको टेस्ट सिरिजमा १–० ले अग्रता लिएको छ ।

मात्र १ सय ९४ रनको मध्यम लक्ष्य थियो । भारतले ११०÷५ को स्कोरबाट शनिबार खेल शुरु ग¥यो । भारतीय टोली जितबाट केवल ८४ रनले टाढा थियो र टोलीका ५ महत्वपूर्ण विकेट पनि बाँकी रहेको थियो । जसमा भारतीय कप्तान विराट कोहलीसमेत क्रिजमा थिए । पहिलो इनिङमा जसरी सतक प्रहार गरे त्यसअनुसार भारतले यो टेस्ट जित्ने अनुमान गरिएको थियो ।

तर इंग्लिस बलरको घातक बलिङमा नतमस्तक बनेपछि भारत ५४.२ ओभर खेल्दै १ सय ६२ रनमै अलआउट हुन बाध्य भयो । भारतले चौथो दिनको बिहानी समयमा ५२ रन जोडेर बाँकी ५ विकेट गुमाएको थियो । भारतले लक्ष्य भेटाउन असफल भएपछि इंग्ल्यान्डले आफनो १ हजारौं टेस्टमा जित हात पा¥यो । दोस्रो टेस्ट ९ अगस्टमा लर्डस्मा खेलिनेछ ।

जेम्स एन्डरसनले दिनको छैटो बलमा दिनेस कार्तिकलाई आउट गरेर इंग्ल्यान्डलाई जितको आशा देखाएका थिए । छैटो विकेट गुमाएको भारतले यसपछि प्रमुख ब्याटसम्यान विराट कोहलीलाई समेत गुमाएपछि इंग्ल्यान्ड खेलमा हावी भयो । उनलाई बेन स्टोक्सले व्यक्तिगत ५१ रनमा एलबीडब्ल्यूमा पवेलियन फर्काएका थिए ।

यसअघि पहिलो इनिङमा विराटले सतक (१४९ रन) प्रहार गरेका थिए । स्टोक्सले त्यसपछि सोही ओभरमा मोहम्मद शामीको विकेट लिए । अन्तिममा हार्दिक पाण्ड्याले भारतको लागि केही आस देखाए तर उनलाई स्टोक्सले सिकार बनाएर जित दिलाएका थिए । हार्दिकले ३१ रन बनाएका थिए ।

जोए रुटले बलिङ परिवर्तन गर्ने क्रममा स्टोक्सलाई पुन बल ठम्याएपछि उनले पहिलो ओभरमै दुई विकेट लिए । स्टोक्सले ४ विकेट लिन ४० रन खर्चेका थिए । जेम्स एन्डरसनले ५० रन दिएर २ विकेट हासिल गरे भने स्टुआर्ट ब्रोडले पनि २ विकेट नै प्राप्त गरेका थिए । त्यस्तै लेग स्पिनर अदिल रशिदले एक विकेट लिने क्रममा इशान्त शर्मालाई एलबीडब्ल्यूको धरापमा पारेका थिए ।

स्टोक्सले अदालती मामिलाको कारण दोस्रो टेस्टमा खेल्ने सन्देह भएको छ । इंग्ल्यान्डले पहिलो इनिङमा २ सय ८७ रन बनाएको थियो । जसमा जोए रूटले ८० रनको सहयोग गरे । भारतले पहिलो इनिङमा २ सय ७४ रन जोडेको थियो । जसमा कप्तान विराटले २२ औं टेस्ट सतक र इंग्ल्यान्डमा पहिलो टेस्ट सतक प्रहार गरे ।

टोली ७ विकेटको क्षेतिमा १ सय ६९ रनमा हुँदा विराटले सानदार १ सय ४९ रन बनाएका थिए । जसअनुसार भारत इंग्ल्यान्डसँग १३ रनले पछि प¥यो । इसान्त शर्माले ५ विकेट लिएर इंग्ल्यान्डको दोस्रो इनिङ १ सय ८० रनमा समेटिदिए ।

 

प्रतिक्रिया दिनुहोस्