‘ई–प्लानेट नेसनल कप फुटसल’को उपाधि नवोदितलाई, आयोजक नेसनल दोस्रो



नेपाल समाचारपत्र, काठमाडौं ।
राजधानीमा सम्पन्न ‘ई–प्लानेट नेसनल कप फुटसल’को उपाधि नवोदित कलेजले जितेको छ । प्रतिस्पर्धात्मक बनेको प्रतिायोगिताको फाइनलमा नवोदितले आयोजक नेसनल कलेजलाई ३–२ गोलअन्तरले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो ।

बालुवाटारस्थित ढुकु फुटसल हवमा सम्पन्न प्रतियोगितामा आयोजक नेसनलले पहिलो मिनेटमै लिएको अग्रता जोगाउन नसक्दा नवोदित च्याम्पियन बन्यो । पहिलो गोल गरेको केही मिनेटमै नवोदितले आत्मघाती गोल उपहार पायो । त्यसको लगत्तै गोल गर्दै पहिलो हाफमा नवोदित २–१ ले अगाडी बढ्यो । दोस्रो हाफमा नेसनलले फेरि गोल गर्दै खेललाई आफ्नो पक्षमा पार्ने कोशिस गरेपनि अर्को गोल थप्दै नवोदितले उपाधि आफ्नो पक्षमा पारेको हो ।

मुख्य प्रायोजक एजुकेसन प्लानेट (ई–प्लानेट) प्रालि तथा सह–प्रायोजक नेपाल एसबीआई बैंक रहेको प्रतियोगिताको विजेता नवोदितले नगद ३५ हजार रुपैयाँसहित कूल ५० हजार रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्यो । त्यस्तै दोस्रो हुने नेसनलले नगद २० हजार रुपैयाँसहित कूल ३० हजार रुपैयाँ बराबरको पुरस्कारमा चित्त बुझायो ।
विजेतालाई नेसनल कलेजका प्रिन्सिपल माधव न्यौपाने तथा ई–प्लानेटका कार्यकारी निर्देशक नरेन अर्याललगायतले ट्रफि, मेडल तथा सर्टिफिकेटसहित गिफ्ट ह्याम्परहरु प्रदान गरे ।

प्रतियोगिताका ‘बाह्रखरी उत्कृष्ट खेलाडी’ नेसनलका विक्रान्त नरसिंह राणा घोषित भए । त्यसैगरी नेसनलकै अनिस बस्नेतले सर्वाधिक १० गोल गर्दै ‘सबैखेल उच्च गोलकर्ता’ हुँदा विजेता नवोदितका निशान राम्जाली ‘नेपाल इभेन्टस् उत्कृष्ट गोलकिपर’ घोषित भए ।
४० टोली सहभागी प्रतियोगिता नेपालकै सर्वाधिक ठूलो अन्तरकलेज फुटसल प्रतियोगिता बनेको आयोजकको दाबी छ । प्रतियोगितामा टेन प्लस टु र ब्याचलर लेभलका विद्यार्थीले सहभागीता जनाएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्