काठमाडौंका तान्त्रिकबाट दोलखाका ब्राह्मण चकित



रीतेश घिमिरे
काठमाडौंका घनश्याम तान्त्रिक र दोलखाका चिन्तामणि ब्राह्मणको पौने २ सय वर्षअगाडिको रोचक ऐतिहासिक प्रसंगलाई समेटेर तयार गरिएको ‘वीर हनुमान्’ नामको पुस्तक प्रकाशन भएको छ। साधना हेल्थ पत्रिकाका सम्पादक रोहिणी घिमिरेद्वारा लिखित सो पुस्तक विशेष गरी दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका वडा नं. ४ स्थित हिलेपानीका घिमिरेसँग सम्बन्धित छ।

पौने २ सय वर्षअगाडिको कुरा हो, सन्तान नहुँदाको पीडाले छटपटाएका चिन्तामणि घिमिरे आफ्नो गाउँ दोलखाको उत्तरी क्षेत्र हिलेपानीबाट ७ दिन पैदल हिँडेर नेपाल (हालको काठमाडौं) मा पुगे। त्यहाँ घनश्याम नामका तान्त्रिकसँग भेट भएपछि उनलाई ‘ढुंगो खोज्दा देउता मिल्यो’ भनेझैँ भयो। त्यस बेला घनश्याम तान्त्रिकले आफ्नै आँखाले देखेझैँ हिलेपानी गाउँ र त्यहाँका घिमिरेका बारेमा भनेका आश्चर्यजनक कुराहरू यस पुस्तकमा लेखक रोहिणीले बडो रोचक ढङ्गले प्रस्तुत गरेका छन्।

चिन्तामणि ब्राह्मणलाई ती तान्त्रिकले हिलेपानी बस्तीको ईशान कोणमा कुनै बेला पहिरोले कुलपूजा गर्ने स्थान छोपेको कुरा बताए। सो पहिरो खोतलेर हुर्नू, त्यहाँ शिलासहित तीनवटा खोपा भेटिनेछन् अनि त्यहाँ कुलपूजा गर्नू भनी अराए। साथै उनले नफर्काई पकाएको भुँगरचाँदे रोटी चढाएर हनुमान्को पूजा गर्नू भनी पूजाविधिसहित बताइदिए। यति गरेपछि अवश्य सन्तान हुनेछन् भनी ती घनश्याम तान्त्रिकले वीर हनुमान्को मूर्तिसमेत व्यवस्था गरिदिए। त्यो मूर्ति लिएर चिन्तामणि दोलखा फर्किए। सो हनुमान्को मूर्ति अद्यापि छँदै छ।

गाउँमा पुगेपछि तान्त्रिकले भनेबमोजिम पहिरो खनेर हेर्दा चिन्तामणिले तीनवटा खोपा भेटे। त्यहाँ उनले कुलको पूजा गरे। साथै उनले श्रावणको मंगलबार पारेर भुँगरचाँदे रोटीसहित काँक्रो–निगालोको माला, हरियो मकै आदि चढाएर वीर हनुमान्को पूजा गरे। त्यसपछि तान्त्रिकले भनेअनुसार उनका दुई भाइ छोरा जन्मिए। उनको प्रतिष्ठा पनि झनै बढ्दै गयो। यस घटनाले उनी मात्रै चकित भएनन्, पछि उनका सन्तानसहित अन्य व्यक्तिहरूसमेत चकित हुने गरेका छन्।

अहिलेसम्म पनि यस ठाउँका घिमिरेहरूले हरेक वर्ष ३ पाथी पीठोको नाङ्लोभरिको एउटै रोटी, त्यो पनि नफर्काईकन बनाएर हनुमान्लाई चढाउने गरेका छन्। अनौठो कहानी भएकाले पुस्तक पठनीय छ। हनुमान् पूजाको वैदिक पूजाविधिसमेत उल्लेख गरिएकाले हनुमान् पूजा गर्ने जो–कोहीलाई पुस्तक उपयोगी देखिन्छ। साथै ऐतिहासिक एवम् सांस्कृतिक खोजकर्ताहरूका लागि पनि पुस्तक संग्रहणीय छ।

प्रतिक्रिया दिनुहोस्