धनका लागि मान्छे हदैसम्म गिर्दो रहेछ



पैसाले मान्छेलाई कतिसम्म अन्धो बनाउँछ भन्ने कुरा मृगौला तस्करी समातिएपछि रहस्योद्घाटन भएको छ । मान्छेले पैसाको लागि मान्छेको मृगौलासमेत तस्करी गर्छ भन्दा पत्याउन गाह्रो हुन्छ तर यो यथार्थ हो । प्रहरीले चितवनबाट मृगौला तस्करीमा संलग्न चारजनालाई पक्राउ गरेको छ । मान्छे पैसाको पछाडि यसरी दौडिएको छ कि उसले आवश्यक परेमा जस्तो पनि अपराध गर्न पछि पर्दैन । पैसाकै कारण जघन्य अपराधसमेत हाम्रो समाजमा घटिरहेका छन् ।

तर यही समाजमा यस्ता मनकारी मानव पनि छन् जसले पुण्य कमाउनको लागि आफूले दैनिक गुजारा चलाउँदै आएको छाक कटाएरसमेत सामाजिक क्षेत्रमा खर्च गरिरहेका छन् । यसले यो समाजमा मानवीयता पनि छ है भन्ने सन्देश दिएको छ । पैसा सबै थोक होइन, फेरि पनि मान्छे आज पैसाको लागि आफ्नो थालथलोसमेत छाडेर विदेशी भूमिमा पलायन भइरहेका छन् तर कतिपय यस्ता नागरिक छन् जसले गाउँघरमै दुःख–सुख गरेर जीवनयापनसँगै सामाजिक कार्यमा महत्वपूर्ण भूमिका खेलिरहेका छन् ।

समाजमा एउटा यस्तो वर्ग छ जसले छोराछोरीको न्वारन, पास्नी होस् वा जन्मदिन लाखौं रुपियाँ खर्च गरेर मनाउने गर्छन् । तर यही समाजमा यस्तो एउटा वर्ग छ जसले जन्मदिन होस् वा एनिभर्सरीमा हुने फजुल खर्च कटाएर समाजबाट अपेहित भई बाँचिरहेकाहरुको क्षेत्रमा खर्च गरिरहेका छन् । हाम्रो समाजमा यस्तो एउटा वर्ग पनि छ जसको ओत लाग्ने बास छैन भने भोक लाग्दा खाने अन्नसमेत छैन । यस्ता वर्गका नागरिक पनि हाम्रो समाजका सदस्य नै हुन । यिनीहरुलाई दुःख पर्दा मलहम लगाउने हाम्रो पनि दायित्व हो भन्ने कुरा भुल्नुहुँदैन ।
मान्छेले धर्म गर्नको लागि केवल मठमन्दिर धाएर मात्रै हुँदैन । समाजमा पुण्य हुने केही काम गरे मात्र स्वर्गीय आनन्द प्राप्त गर्न सकिन्छ । यस्तै सामाजिक सेवाबाट ओतप्रोत भएका मानवबाट आज हाम्रो समाजबाट विमुख भएर बाँचेकाहरुले राहतको महसुस गर्न पाएका छन् । धन्य, यस्ता पात्रहरुलाई जसले आफूसँगै अरुको पनि भलो चिताउने गर्छ ।
– माधव रेग्मी, चितवन ।

प्रतिक्रिया दिनुहोस्