सरकारको ६ महिने कार्यकाल निराशाजनकः कमल थापा



सरोज यादव, विराटनगर ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको ६ महिने कार्यकाल अत्यन्त निराशाजनक रहेको टिप्पणी गरेका छन । विराटनगरमा आज पार्टीको प्रदेश कार्यालय उद्घाटन पछि आयोजित पत्रकार सम्मेलनमा उहांले सरकार सानातिना बिषयमा अल्मलिएका कारण महत्वपूर्ण कामहरु गर्न नपाएको बताएका हुन । उनले सानातिना बिषयमा अल्मलिएकै कारण सरकारले महत्वपुर्ण सामाजिक,आर्थिक र राजनितिक रुपान्तरणका काममा प्रवेश गर्न नसकेको बताए ।

सोहि कारण पछिल्लो समय सरकारको लोकप्रियतामा तीब्र ह्रास आएको उनको भनाई थियो । उनले राप्रपा भने सरकारलाई कामगर्न दिनुपर्ने पक्षमा रहेको बताए । ०६२÷६३ को आन्दोलनपछि परिवर्तनलाई संस्थागत गर्ने नाममा लादिएको गलत नितिको कारण देश अहिले एकदलीय सर्वसत्ताबाद उन्मुख भएको थापाको भनाई थियो ।

उनले सोही नितिका कारण ब्यापक धर्मपरिर्वतनका कारण नेपालको सांस्कृतिक धार्मिक पहिचान संकटमा पर्नुका साथै अनियमितता र भ्रष्टाचार मौलाएको दाबी गरे । कहिले डाक्टर गोबिन्द केसी र कहिले प्रधानन्यायाधिशको मुद्धा उठाएर कांग्रेसले शुरु गरेको सतही संघर्षले देशलाई समाधान दिन नसक्ने बताउदै थापाले कांग्रेसले यसअघि अवलम्बन गरेको निति र मार्गचित्रमा पुनर्विचार गर्नुपर्ने बताए ।
प्रस्तावित प्रधानन्यायाधिशको सम्बन्धमा सञ्चारकर्मीले राखेको जिज्ञाशामा अध्यक्ष थापाले संसदीय सुनवाई समिति पार्टीको छांयाकोरुपमा देखिएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्