सावित्राको ह्याट्रिकमा एपीएफ लिग विजेता



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल एपीएफ क्लबले उप राष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिताको उपाधि मंगलबार उचालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको लिगको अन्तिम खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३–१ गोलअन्तरले हराएर उपाधि हात पा¥यो । ५ टोलीको सहभागिता भएको प्रतियोगितामा लिगमा शीर्ष हुने टोली विजेता बन्नेक्रममा एपीएफले बाजी मारेको हो । गत संस्करणमा पनि विजेता बनेको एपीएफले एक गोल बेहो¥यो भने विपक्षीविरुद्ध कूल २२ गोल गरेको छ ।

आर्मी र एपीएफले यो खेल खेल्नु अगाडि ९–९ अंक रहेर उपाधिको लागि प्रतिस्पर्धा गरेका थिए । जसमा एपीएफले गोल धेरै गरेको आधारमा उक्त खेल बराबरीमै पनि उपाधि पक्का हुने समीकरण थियो । गोल भिन्नतामा एपीएफसँग निक्कै पछाडि परेको आर्मीमाथि उक्त खेल जित्नै पर्ने दवाव थियो । आर्मीले गत संस्करणमा उपविजेतामै चित्त बुझाएको थियो । यसपटक उपाधि जित्ने आशामा एपीएफ नै तगारो बनिदियो ।


एपीएफलाई उपाधि दिलाउन प्रमुख स्ट्राइकर सावित्रा भण्डारीले तीनै गोल गरी ह्याट्रिक पुरा गरेकी थिइन् । एपीएफले खेलको ४१ औं मिनेटमा गोल गर्दै खेलमा अग्रता लिएको थियो । ४९ औं मिनेटमा पुनम जर्घा मगरले छिटै गोल फर्काएपछि आर्मीले एपीएफलाई कडा चुनौती दिने छनक देखायो । तर आर्मीको सो गोललाई सान्त्वना सावित गर्न अर्को गोल सावित्राले ५ मिनेटपछि नै गरिन् । यसपछि आर्मीले गोल फर्काउन प्रयास गरेपनि सफल भएन । ८२ औं मिनेटमा सावित्राले फेरि गोल थपेपछि आर्मीको लागि खेलमा फर्कने आशा समाप्त भएको थियो ।

राष्ट्रिय लिग विजेता बनेको एपीएफले पहिलो पुरस्कार स्वरुप २ लाख नगद र ट्रफी हात पा¥यो । त्यस्तै आर्मीले १ लाख रुपियाँ हासिल गरेको थियो । तेस्रो बनेको रौतहट जिल्ला फुटबल टोलीले ५० हजार रुपियाँ प्राप्त ग¥यो । हिजै भएको अर्को खेलमा काठमाडौंलाई ९–० गोलअन्तरले हराएर नेपाल पुलिस क्लबले इज्जत जोगायो र चौथो स्थानमा रह्यो । विभागिय टोलीको जितका लागि नीरु थापा एक्लैले चार गोल गरिन् । तर यो हारसँगै काठमाडौंले चारै खेलमा पराजय बेहो¥यो ।

सावित्रा मोस्ट भ्यालुएबल खेलाडी
एपीएफ र नेपाली राष्ट्रिय महिला टोलीकी उत्कृष्ट स्ट्राइकर सावित्रा भण्डारीले प्रतियोगितामा मोस्ट भ्यालुएबल खेलाडीको पुरस्कार जितिन् । उनले सो वापत २५ हजार नगद प्राप्त गरेकी हुन् । उनले प्रतियोगितामा कूल १२ गोल गरेकी छिन् । रौतहटविरुद्ध ४ गोल, काठमाडौंविरुद्ध ५ गोल र आर्मीविरुद्ध ३ गोल गरेकी सावित्राले पुलिससँगको खेलमा गोल गर्न सकिनन् ।

१० हजार प्राप्त गर्नेहरुः
प्रशिक्षक जनक सिंह (एपीएफ)
फरवार्ड रश्मीकुमारी घिसिङ (रौतहट)
डिफेन्डर पूनम जर्घा मगर (आर्मी)
मिडफिल्डर रेनुका नगरकोटी (एपीएफ)
गोलकिपर एन्जीला थुम्बापो सुब्बा (एपीएफ)

 

 

प्रतिक्रिया दिनुहोस्