कर्णाली प्रदेश पर्यटनको केन्द्र बन्छ



कर्णाली प्रदेश आफैंमा पछाडि परेको पहाडी प्रदेश हो । कर्णाली प्रदेशलाई अहिले विश्वको पर्यटनमा नयाँ गन्तव्य बन्न सक्ने सम्भावनाको प्रदेश भनेर धेरै खाले भाषणहरु शुरु गरिएका छन् । केही समयपहिले प्रधानमन्त्री केपी शर्मा ओलीले समेत कर्णाली प्रदेशको सबैभन्दा महत्वपूर्ण स्थान रारामा पुगेर देशवासीका नाममा सम्बोधन गरेपछि आन्तरिक र बाह्य पर्यटकहरुको संख्या रारामा उल्लेख्य मात्रामा वृद्धि भएको छ ।

कर्णाली प्रदेशमा पर्यटकको वृद्धि भएसँग पर्यटकहरुका लागि विभिन्न स्थानमा आवश्यक पर्ने होटल बास, पर्यटकहरुलाई आवश्यकता परेका जानकारीहरु दिने व्यक्तिहरु, स्थानीय उत्पादन र उपभोगजस्ता विषयमा आवश्यक तालिम, भौतिक पूर्वाधार, यातायातलगायतका विषयमा सरकार, स्थानीय नागरिक, अन्य सम्बन्धित क्षेत्रहरु, होटेल व्यवसायीले पर्यटन प्रवद्र्धनमा थप जिम्मेवार भएर अगाडि बढ्नुपर्ने देखिएको छ ।

देश–विदेशका पर्यटकहरुका लागि पहिलो रोजाइ बन्न सक्ने कर्णाली प्रदेशमा अहिलेसम्म १ सय १ उत्कृष्ट गन्तव्यहरुको निर्माण गरिएको प्रदेश सरकारले जानकारी दिएको भए पनि अझै धेरै गन्तव्यहरु र पर्यटकहरुका लागि सर्किट निर्माण गरेर अब सरकारले ठोस योजना लागु गर्नुपर्ने देखिएको छ ।

पर्यटन प्रवद्र्धन गर्नका लागि आवश्यक पर्ने पूर्वाधार, गन्तव्यहरुको खोजी, पर्यटन कति दिनसम्म बस्न सक्छन् भन्ने विषयहरुको प्रदेशमै जानकारी हुने गरी सूचना केन्द्र स्थापना, हवाई तथा अन्य पूर्वाधारको व्यवस्थापनलगायतका विषयमा पनि सबै निकायहरु जिम्मेवार बन्नुपर्ने देखिएको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट, दैलेख, कालिकोट, जुम्ला, मुगु, हुम्ला हुँदै मानसरोवरसम्मका विभिन्न सर्किटहरु निर्माण गर्दै त्यो रुटसम्म लाखौं पर्यटकहरु भित्र्याउने अभियानका लागि कर्णाली प्रदेशका सबै नागरिकले आ–आफ्नो मस्तिष्कबाट सकारात्मक सोच निर्माण गरेर प्रदेशकै आर्थिक समृद्धिका लागि अगाडि बढ्नुपर्ने देखिएको छ । सरकारले पर्यटनलाई प्रवद्र्धन गर्न विभिन्न कार्यक्रम अगाडि ल्याउन जरुरी छ ।
– सरस्वती आचार्य, डोटी ।

 

 

प्रतिक्रिया दिनुहोस्