उपराष्ट्रपतिसहित २० भन्दा बढीलाई सम्मान



नेपाल समाचारपत्र, काठमाडौं ।
उपराष्ट्रपति नन्दबहादुर पुनसहित २० जनाभन्दा बढीलाई सोमबार सम्मान गरिएको छ ।
नेपाल–भारत आदिवासी मैत्री संघको आयोजनामा पुनसहित संघलाई प्रतक्ष्य तथा अप्रतक्ष्य रुपमा सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको र प्रशंसापत्र वितरण गरिएको संघकी उपाध्यक्ष कमलाकुमारी गुरुङले बताउनुभयो । उपराष्ट्रपतिको कार्यालयमा आयोजित कार्यक्रममा संघका अध्यक्ष बिनोदकुमार गुरुङले उपराष्ट्रपति पुनलाई र अरुलाई उपराष्ट्रपतिले सम्मान गर्नुभएको हो ।

आदिवासी जनजाति भएर पनि देशको उच्च पदमा पुग्न सफल भएको भन्दै उपराष्ट्रपतिलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।
संघले गृहमन्त्री रामबहादुर थापा मगर, उर्जा तथा जलश्रोतमन्त्री वर्षमान पुन, नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङ, नेपालका लागि भारतीय उपराजदुत अजय कुमार, उपराष्ट्रपतिको कार्यालयका वैदेशिक मामिला विज्ञ जीवनकुमार गुरुङका साथै पत्रकार गंगा बराल, युगप्रसाद धमला (हरी), कीर्ति पाण्डे, सोमबहादुर पाण्डे, ललितबहादुर तामाङ, डा. भावना तामाङ, महावीर पुन मगर, कमलाकुमारी गुरुङ, डा. डिबी गुरुङ, सोबिता गुरुङ, ज्ञानु गुरुङलगायतलाई प्रशंसापत्र प्रदान गरिएको छ ।

उपराष्ट्रपति पुनले नेपाल र भारतबीचको आपसी सम्वन्ध स्थापित गर्न सांस्कृतिक संघसंस्थाको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । नेपाल विविध भाषाभाषी र संस्कृति भएको देश भएकाले यसको पहिचान थप स्थापित गर्न सबैको योगदान रहनुपर्नेमा जोड दिनुभयो । संघका अध्यक्ष बिनोदकुमार गुरुङले आदिवासी जनजातिको हकहितको लागि छुट्टै मन्त्रालयको स्थापना गर्नका लागि पटकपटक सम्वन्धित निकायसँग पहल गरिरहेको जनाउनुभयो । उहाँले दुई देशबीच आपसी असहमति हटाउन र सौहाद्रपूर्ण वातावरण निर्माण गर्न पहल गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्