पुण्यमाता सफाईमा वडा कार्यालय तात्यो



नेपाल समाचारपत्र, पनौती, काभ्रे ।

पनौती नगरपालिकाको वडा नं. ७ कार्यालयले पुण्यमाता खोला सरसफाई तथा सार्वजनिक शौचालय निर्माण अभियान संचालन गर्ने भएको छ । सगरमाथा फाउण्डेसन नेपालको सहयोगमा पनौती नगरपालिका वडा नं. ७ कार्यालयले आयोजना गरेको प्रारम्भिक बृहत छलफल भेलामा पुण्यमाता खोला र यसको महत्वको बारेमा विभिन्न स्थानीय, बुद्धिजिवी लगायत विभिन्न वडाका वडाध्यक्षले आफ्नो भनाईहरु राख्नु भएका थिए ।

वडा नं. ७ का वडाध्यक्ष रामचन्द्र नास्नानीको सभापतित्व र पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेको प्रमुख आथित्थ्यतामा आयोजना भएको कार्यक्रममा पूर्व सांसदद्वय शिवप्रसाद हुमागाईं, रामहरि सुवेदी, पूर्व मेयर सप्तकाजी बुद्धाचार्य, सगरमाथा फाउण्डेसनका कन्ट्री डाइरेक्टर अर्जुन भट्ट, सगरमाथा फाउण्डेसनकै राष्ट्रिय संयोजक रेखा दुलाल, १२ वटै वडाका वडाध्यक्ष, पनौती प्रहरी चौकीका प्रमुख शिवहरि कार्की लगायतका अतिथि गण रहेको थियो । कार्यक्रममा सम्पूर्ण अतिथि एवं उपस्थित जनसमुदायलाई वडा नं. ७ का वडा सदस्य पुरुषोत्तम कर्माचार्यले स्वागत गर्नुभएको थियो ।

कार्यक्रम आयोजना गर्नुको कारण र पुण्यमाता खोलाको महत्व बारे नेपालकै नमूना पुस्तकालयको रुपमा परिचित ज्ञानविकास सामुदायिक पुस्तकालयका अध्यक्ष ओमकृष्ण श्रेष्ठले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा शुभकामना मन्तब्य विभिन्न वडाका वडाध्यक्ष, पूर्व मेयर एवं पूर्व सांसदद्वयले राख्नुभएको थियो ।

कार्यक्रममा बोल्दै पनौती नगरपालिकाका मेयर भीम न्यौपानेले पनौती नगरपालिका, वडा नं. ७ ले पनौती नगरपालिकामा हाल संचालन भइरहेको विकास निर्माणका योजनाहरु, पनौती नगरकै गौरव पनौती क्षेत्रीय रंगशाला आदिको बारेमा जानकारी दिनुभएको थियो ।

सरसफाईले मानिसको दैनिक जीवन र पर्यायवरणमा पार्ने असरका बारेमा पनि उहाँले बोल्नुभएको थियो । समग्र पनौती सुन्दर, सफा र हरित बनाउने योजनामा सम्पूर्ण नगरबासी, संघसंस्थालाई सहयोग गर्न आब्हान गर्दै सगरमाथा फाउण्डेशनलाई पुण्यमाता खोला सर–सफाईमा सहयोग गर्न आएकोमा धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रमको दोस्रो सत्रमा सगरमाथा फाउण्डेशनको कन्ट्री डाइरेक्टर अर्जुन भट्टले आफ्नो प्रस्तुति राख्नुभएको थियो । भने वडा अध्यक्षले जनताका जिज्ञासाहरु बारे छलफल गर्नु भएको थियो । कार्यक्रम सामाजिक परिचालिका गीता तिमल्सिना दाहालले संचालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्