किसान मारमा कहिलेसम्म ?



नेपाल कृषिप्रधान मूलूक हो । यहाँ सबैजसो कृषिमै निर्भर रहका छन । तर यहाँ किसाननै मारमा पर्ने गरेको अबस्था छ । भर्खरै सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले किसानहरुको दूधको मूल्य घटाएपछि विरोधस्वरुप सडकमा दूध पोखेको खबर निक्कै चर्चामा आयो ।

टमाटर किसानले टमाटरको मूल्य नपरेपछि सडकमा फाले, गाईभैंसीलाई कुँडो खुवाए । सरकारले किसानहरुको पसिनाको अवमूल्यन गरेको भन्दै राप्ती नगरपालिकाको भण्डारा दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानहरुले राजमार्गमै दूध पोखेर आक्रोश पोखे । सडकमा दूध पोख्नुपर्ने नियतिले सरकारलाई पटाक्षेप मात्र गरेको छैन, किसानहरुको पीडासमेत प्रतिबिम्बित गरेको छ ।

राप्तीका ६ वटा दुग्ध उत्पादक सहकारी संस्थाका किसानहरुले दुग्ध विकास संस्थाले असार १६ गतेदेखि लागू हुने गरी प्रतिलिटर ३ रूपैयाँ मूल्य घटाएपछि विरोध गरेका हुन् । दूधको मूल्य घटाएपछि किसानलाई प्रतिलिटर १० रूपैयाँ घाटा हुने भएपछि आफूले उत्पादन गरेको दूध सडकमा पोख्न बाध्य भएका हुन् ।

अहिले दूधले बजार नपाउने अवस्था पनि देखिँदैन । किनभने, चैतदेखि साउनसम्मको अवधिलाई सुख्खा मौसम मानिन्छ । यो मौसममा दूधको उत्पादन नै कम हुन्छ । नेपालमा अझै पनि ३ लाख लिटर दूधको अभाव रहेको बताइन्छ । दूधका उत्पादन कम हुँदा भारतबाट पाउडर दूध आयात गरी सरकारी स्वामित्वका नेपाल दुग्ध विकास संस्थानदेखि निजी क्षेत्रका डेरी उद्योगहरुले पनि दूध उत्पादन गर्दै आएका छन् ।

एकातिर दूधको अभाव देखाएर पाउडर दूध आयात गर्ने र अर्कोतिर किसानले पसिना बगाएर उत्पादन गरेको दूधको मूल्य घटाइनु किसानमाथि ठूलो खेलबाड हो । सरकार किसानप्रति कति उदासीन रहेको छ भन्ने यही दृष्टान्त काफी छ । सुख्खा मौसममा उत्पादित दूधको मूल्य समायोजन गर्ने विगतको परम्परालाई बिर्सिएर सरकारले किसानमाथि जबर्जस्ती मूल्य घटाउने जुन दुष्प्रयास गरेको छ, यो लोककल्याणकारी राज्यमाथिकै पटाक्षेप हो ।

यसअघि जेठ १६ गतेदेखि लागू हुने गरी किसानको दूधमा निजी डेरीहरुले प्रतिलिटर २ रूपैयाँ ३७ पैसा मूल्य घटाएका थिए । अहिले फेरि दुग्ध विकास संस्थानले ३ रूपैयाँ मूल्य घटाएपछि किसानहरु मर्कामा परेका हुन् । यो समस्या पूर्वी चितवनका दुग्ध उत्पादक कृषकहरुको मात्र होइन, देशभरिकै पशुपालक किसानहरुले बेलाबेलामा समान किसिमका समस्या झेल्दै आएका छन् ।

दुग्ध उत्पादक किसानहरु संगठित नभएको र उनीहरुको भन्दा निजी दुग्ध उत्पादक उद्योगहरुको बोलबाला भएका कारण किसानका आवाज सधैँ ओझेलमा पर्ने गरेका छन् । खासगरी, दूधको मूल्य निर्धारणमा किसानहरु सधैँ अन्यायमा परेको गुनासो गर्ने गरेका छन् ।

दुग्ध उत्पादनको लागत बढ्दै जाँदासमेत दुग्ध विकास संस्थानमार्फत निर्धारण हुने दूधको मूल्यले किसानलाई लाभ नपुगेको उनीहरुको गुनासो छ । अहिले दाना, चोकर र ढुटोमा प्रतिकिलो १० रूपैयाँका दरले बढेको छ । चोकर र ढुटो ३० रूपैयाँ प्रतिकिलो छ भने दाना ३४ रूपैयाँ पर्छ । किसानले उत्पादन गरेको दूधको मूल्य प्रतिलिटर ५५ रूपैयाँ पर्छ । मूल्य घटेपछि ४५ रूपैयाँमा दूध बिक्री गर्नुपर्ने अवस्था आएपछि किसानले बाध्य भएर दूध पोखेका हुन् । जब कि, उपभोक्ताले बजारमा प्रतिलिटर ८० रूपैयाँमा खरिद गर्नुपर्ने बाध्यता छ । किसान र उपभोक्ता सधैँ मारमा पर्ने तर बिक्रेताले अधिक मुनाफा लिने प्रवृत्ति देशमा चलिआएको छ ।

नेपालमा दूधको उत्पादन र खपत अझै पनि न्यून नै छ । दूध सबै व्यक्तिका लागि उत्तिकै आवश्यक पर्ने तत्व हो । तर, दूध बेच्न अझैसम्म घरघरमा पुग्नुपर्ने अवस्था छ । स्वदेशका दुग्ध उत्पादक किसानहरुले उत्पादन गरेको दूधले सही ढंगले बजार र उचित मूल्य नपाउने तर विदेशबाट पाउडर दूध भित्र्याएर खुलेआम बिक्री गर्ने सरकारको किसानमारा नीतिमै खोट देखिन्छ । किसान सधैँ थिचोमिचोमै रहनुपर्ने भएपछि सरकारले स्वदेशी उद्यमीलाई कसरी प्रवद्र्धन गर्न सक्छ ? सरकारले किसानलाई प्रोत्साहित गर्न दूधको मूल्य समायोजन गर्नु अति आवश्यक देखिएको छ । सरकारको विशेष ध्यान पुगो ।
– विपिन सिलवाल, चितवन ।

प्रतिक्रिया दिनुहोस्