एम्बुलेन्स नै जाम: कोटेश्वरमा पनि अन्डरपास जरुरी



मधुसूदन रायमाझी, काठमाडौं
काटेश्वरमा हुने ट्राफिक जामको कारण यात्रुहरुको दैनिकी नै प्रभावित हुने गरेको छ । ट्राफिक प्रहरीहरु जाम व्यवस्थापन गर्न खटिए पनि सवारी साधनको चाप अत्यधिक हुँदा यात्रुहरुले सास्ती बेहर्नु परेको हो ।

पेप्सीकोलाका हरि पराजुली दैनिक कोटेश्वरकै सडक हुँदै कार्यालय आवतजावत गर्नुहुन्छ । तीनकुने–सूर्यविनायक सडक विस्तार भए पनि एम्बुलेन्ससमेत जाममा पर्ने भएकाले एक घण्टा समय नै छुट्याउने गरेको अनुभव सुनाउनुहुन्छ उहाँ । उहाँ थप्नुहुन्छ– ‘सडक त बन्यो, जाम घटेन, आकाशे पुल नहुँदा यात्रुलाई बाटो काट्न धौ हुने गरेको छ ।’

ट्राफिक प्रहरी कार्यालय कोटेश्वरका अनुसार पैदल यात्रुहरू सडकबाटै हिँड्नुपर्दा झन् जाम हुने गरेको छ । कोटेश्वर–कंलकी आठ लेनको सडक निर्माण गरेसँगै सवारी साधनको चाप पनि बढेको छ । कोटेश्वर हुँदै चक्रपथ र पूर्व जाने सवारीसाधन आवतजावत गर्ने गर्छ । त्यसैले कोटेश्वरमा पनि अण्डरपास निर्माणको बनाउनुपर्ने आवाज उठ्न थालेको छ ।

एम्बुलेन्स नै पर्छ जाममा
आकाशे पुल नहुँदा पैदलयात्रीलाई सास्ती

प्रतिनिनिधिसभा सांसद महेश बस्नेत बढ्दो सवारी चापलाई व्यवस्थापन गर्नका लागि जडिबुटीदेखि कोटेश्वरसम्मको सर्भिस ट्रया खोल्नुपर्ने बताउँदै भन्नुहुन्छ– ‘दीर्घकालीन समस्या समाधानका लागि एरपोर्टबाट अण्डरवास बनाउने प्रस्ताव अगाडि बढाइएको छ, तत्कालका लागि कोटेश्वरसम्म सर्भिस ट्रयाक खोल्नुको विकल्प छैन् ।’

पूर्वबाट राजधानी भित्रिने मुख्य नाका कोटेश्वर हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएका कारण अन्यत्र उपत्यका काठमाडौं भित्र्ने मार्ग नहुँदा कोटेश्वर निकै अस्तव्यस्त बन्दै आएको छ । स्थानीय पदम जोशी जडिबुटीदेखि काटेश्वरसम्म हाल फुटपाथ रहेको ठाउँमा गाडी चलाउने गरी थप फुटपाथको विस्तार गर्नुपर्ने बताउनुहुन्छ । कोटेश्वरको दायाँबायाँ नै एयरपोर्टको जग्गा पर्छ ।

सडक विभागले मुनिभैरवदेखि मनहरा खोलासम्म वैकल्पिक मार्ग निर्माणको गृहकार्य अगाडि बढाएको छ । सरकारको नीति तथा कार्यक्रमा नै एयरपोर्ट मुनिबाट वैकल्पिक मार्ग बनाउने विषय समावेश गरिएको छ । सडक विभागका वैदेशिक शाखाका प्रमुख सञ्जय श्रेष्ठ वैकल्पिक मार्ग (अण्डरपास) निर्माणका लागि जापान सरकारलाई आग्रह गरेको बताउनुहुन्छ । उहाँका अनुसार टेक्निकल पार्टको अध्ययन गरी जापान सरकारलाई आग्रह गरिएको छ ।

अण्डरपासका लागि बजेटको समस्या जनभएको र अध्ययनको रिपोर्ट आएपछि नै निर्माण कार्य अगाडि बढ्ने उहाँको भनाइ छ ।’ एयरपोर्ट क्षेत्रमा डेढ सय मिटर अण्डरपास निर्माण गर्ने गरी काम अगाडि बढाउने तयारी गरिएको छ । वैकल्पिक मार्ग निर्माण गरेको अवस्थामा कोटेश्वरमा देखिएको बढ्दो ट्राफिक जामको न्युनिकरण गर्न सकिनेछ ।

ट्राफिक प्रहरी कार्यालय कोटेश्वरका प्रमुख कृष्णराज सापकोटा आफूहरु ट्राफिक व्यवस्थापन गर्न रातदिन खटिएको बगाउँदै गुनासो गर्नुहुन्छ– ‘सवारी चाप अत्यधिक छ, ट्राफिक लाइट राख्दा पनि समस्या समाधान हुने अवस्था नै छैन, कलंकीमा जस्तै अण्डरपास बनाउनुपर्छ ।’

लेनअनुसार सवारी चलाउन आफूहरु क्रियाशील रहेको बताउँदै उहाँ थप्नुहुन्छ– केही महिनाभित्रै हालको अवस्थामा सुधार ल्याउने योजना अगाडि सारिएको छ ।

प्रतिक्रिया दिनुहोस्