अक्षरमार्ग सम्मानको घोषणा



काभ्रे। अक्षरमार्गले यस वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरूमा जस्तै स्रष्टाहरूको सम्मान गर्ने भएको छ। यो साल विष्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मानबाट वरिष्ठ साहित्यकार तथा चलचित्रकर्मी यादव खरेल र श्रीराम स्मृति अक्षरमार्ग साहित्य सम्मानबाट वरिष्ठ गायक तथा सङ्गीतकार प्रेमध्वज प्रधानलाई एक कार्यक्रमबीच सम्मान गरिने भएको छ।

त्यस्तै यो वर्ष सम्मानित हुने अन्य स्रष्टाहरूमा अक्षरमार्ग नरबहादुर स्मृति सम्मानबाट ज्ञानु पाण्डे र भरतराज अक्षरमार्ग स्रस्टा सम्मानबाट भीमप्रसाद काफ्लेलाई सम्मान समर्पण गरिने जानकारी साहित्यकार तथा अक्षरमार्गका संयोजक सूर्यप्रसाद लाकोजूले दिएका छन्। सम्मान कार्यक्रम यही साउन २६ गते शनिबार हुनेछ।

नेपाली भाषा र साहित्यको सेवा गर्ने उद्देश्यले विगत सात वर्षदेखि निरन्तर प्रकाशित अक्षरमार्गले प्रत्येक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा स्रष्टाहरूलाई सम्मान गर्दै आएको छ। सोही अवसरमा विविध विधाका साहित्यिक पुस्तकहरूको विमोचन पनि हुनेछ।

प्रतिक्रिया दिनुहोस्