विदेशबाट फर्किएर सामुहिक भैंसी पालन



धनवीर दाहाल, रुकुम पश्चिम ।
पैंसा कमाउनको लागी युवाहरु बिभिन्न खाडीमुलक तथा अन्य देशमा जाने प्रचलन छ । तर कतिपय युवाहरु भने बिदेशबाट फर्किएर बिभिन्न व्यवसायमा जुटेका छन् । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका ६ जना युवाले सामुहिक भैंसीपालन व्यवसाय गरेका हुन् । अर्काको देशमा गएर पसिना बगाउनुभन्दा आफ्नै गाउँघरमा व्यवसाय गरेर आत्मनिर्भर बन्न सकिने भन्दै उनीहरु यसतर्फ आकर्षित भएका हुन् । चौरजहारी नगरपालिका –५ लहरेसिमलका २९ वर्षीय अमृत शर्माको नेतृत्वमा उनीहरुले लहरेसिमल दुग्ध उत्पादन भैंसी फर्म स्थापना गरी गत बैशाख देखि काम थालेका छन् । व्यवसायमा संलग्न अन्य युवाहरुमा मुक्ति प्रसाद शर्मा, दिपेश ढकाल, दिनेश शर्मा, गोरख रावत र चन्द्रलाल शर्मा रहनुभएको छ । सबैजना ३० वर्ष मुनिका युवाहरु रहेको फर्मका अध्यक्ष अमृत शर्माले बताउनुभयो । सुरुमा २८ लाख लगानीमा भैंसी गोठ निर्माण गरेको र त्यसमा अहिले १५ वटा भैंसीहरु पालन गरिएको शर्माले जानकारी दिनुभयो । जसमा ४ वटा दुहुना र बाँकी सबै गाभिना रहेको उहाँले बताउनुभयो । एकमहिनाभित्र सबै भैँसी दुहुना हुने र बजारमा दुध निर्यात गरेर आम्दानी बढाउने बताईएको छ । गोठको सबै कामकाज आफूहरुले मिलेर गर्ने गरेको व्यवसायी गोरख रावतले बताउनुभयो ।

‘विदेशमा गर्ने दुःख नेपालमै गरौँ भनेर साथीभाइको सल्लाहले काम सुरु गरेका छौँ ।’ व्यवसायी शर्माले भन्नुभयो,‘यसबाट उदाहरणीय काम गरेर विदेशिएका अरु दाजुभाईलाई पनि स्वदेशमै केही गर्न प्रेरणा दिन चाहन्छौँ ।’ विदेशमा आफूहरुले भोग्नुपरेका दुःख सम्झेर गाउँमै केही गछौँ भन्दै सहयोगका लागि नगरपालिकासँग अनुरोध गरेर केही सहयोग समेत प्राप्त गरेको उहाँले सुनाउनुभयो । युवा उद्यमी विकास गरेकोप्रति खुसी भएर नगरपालिकाले १५ लाख रुपैयाँ सहयोग प्राप्त गरेको उहाँको भनाई थियो ।

चौरजहारी बजारमा डेरी स्थापना गरी आफ्नो फर्म र वडाका सबै किसानबाट दुध खरिद गरेर एकमुष्ट विक्री गर्ने योजना समेत रहेको उनीहरुले बताएका छन् । प्रत्येक घरमा २ वटा भैंसी पालन गर्न लगाउने र उक्त दुध गाउँमै खरिद गरेर आफूले उत्पादन गरेको दुध सँगै बजारसम्म पु¥याउँदा त्यसबाट पनि थप आम्दानी हुने शर्माले बताउनुभयो । त्यसका लागि नगरपालिकाले पनि प्रोत्साहन गरिरहेको उहाँको भनाई छ ।

एउटा भैँसीलाई ६५ देखि ८५ हजार मूल्यमा किन्नुपरेको र गोठ निर्माण लगायतमा लगानी धेरै भएकोले केही समय लगानी उठाउने र त्यसपछि आयस्तर बढाउने योजना रहेको युवा व्यवसायी दिपेश ढकालले बताउनुभयो । एक्लैले गर्दा लगानी गर्न नसकिने भएकोले सबै विदेशबाट फर्किएको युवाहरुको सहभागितामा सामुहिक व्यवसाय सञ्चालन गर्नुपरेको उहाँको भनाई छ । यसका साथै आफूहरुले गोठबाट उत्पादित मलको सदुपयोग गर्दै अर्गानिक तरकारी खेतीको पनि सुरुवात गरेको ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्