परीक्षा बोर्डका अध्यक्ष पौडेललाई पुनर्वहाली गर्न सर्वोच्चको अन्तरिम आदेश



नेपाल समाचारपत्र, काठमाडौँ ।
निर्णय बदरमा पर्नुभएका राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेललाई पुनर्वहाली गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायधीश मिरा खड्काको एकल इजलाशले प्रा.डा. पौडेललाई हटाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

सरकारले गैरकानूनी रुपमा आफूलाई बर्खास्त गरेको भन्दै प्राडा पौडेलले बुधवार सर्वोच्चमा मुद्दा दायर गर्नुभएको थियो । प्राडा पौडेलको तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस गर्नुभएको थियो । सर्वोच्चले साउन १६ गते सरकार पक्षलाई छलफलका लागि बोलाएको छ ।

अघिल्लो सरकारद्वारा गत भदौ १४ गते देखि फागुन २ सम्म भएका सबै नियुक्ति खारेज गर्ने ओली सरकारले निर्णयसँगै शिक्षा मन्त्रालयले साउन ६ गते प्रा.डा. पौडेलको नियुक्ती बदर भएको पत्र पठाएको थियो । सर्वोच्चले अन्तरिम आदेश दिए लगत्तै बोर्डका अध्यक्ष प्राडा पौडेलले हिजो शुक्रबार बोर्डमा गएर हाजिर गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्