पाटन विमानस्थल कालोपत्रे गर्ने कार्य अधुरै, स्थानीय बासिन्दा निरास



विनोद सिंह विष्ट, बैतडी।

लक्ष्य अनुसार काम नहँदा प्रदेश नं ७ (सुदूरपश्चिम)को दोस्रो ठुलो बैतडीको पाटन विमानस्थल कालोपत्रे गर्ने कार्य अधुरै रहेको छ । गत असारमा सक्ने लक्ष्य सहित निर्माण कार्य शुरु गरिएको विमानस्थल कालापत्रे गर्ने कार्य अझै सकिएको छैन् ।

गत बर्षको आर्थिक बर्षको असार मसान्त सम्ममा कालोपत्रे गरिसक्ने हिसाबले गत भदौमा काम शुरु भएको थियो । विमानस्थल कालोपत्रे गर्न अझै कार्तिक सम्म कुनुपर्ने निर्माण कम्पनीले जनाएको छ । ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले काम गरिरहेको विमानस्थलमा कटिंग, फिटिंग र सबबेसको काम सकिएको निर्माण कम्पनीका इन्जिनियर पुरन रावलले बताउनुभयो ।

असारमा सक्ने लक्ष्य भएपनि बेलाबेला बर्षाका कारण कालोपत्रे काम नसकिएको हो उहाँले भन्नुभयो“ठेक्का भईसकेपछि विविध कारणले काम समयमै शुरु नहुँदा पनि समस्या भएको हो ।”

अहिले विमानस्थलको ७५ प्रतिशत काम गरिसकिएको उहाँले दाबी रहेको छ । तर विमानस्थल स्तरोन्नती गर्ने कार्य ५० प्रतिशत मात्रै सकिएको नागरिक उडड्यन प्राधिकरणका उपनिर्देशक एवं सूचना अधिकारी त्रिलोचन पौड्यालले बताउनुभयो ।
सार्वजनिक खरीद नियमावली २०६४ अनुसार निर्माण कम्पनीलाई ६ महिनाको म्याद थप्ने प्रक्रिया भईरहेको छ उहाँले भन्नुभयो“ थपिएको म्याद भित्र विमानस्थल कालोपत्रे गरिसक्नुपर्नेछ ।”

११ करोड २९ लाखको लागतमा निर्माण भईरहेको पाटन विमानस्थलमा ५९० मिटर लम्बाई र २० मिटर चौडाईको रनवे कालोपत्रे गरिनेछ भने ७० मिटर लम्बाई र ३० मिटर चौडाईको एप्रोन कालोपत्रे गरिनेछ ।

वि स २०७२÷७३ को बजेट भाषणमा सरकारले झण्डै दुई दशकदेखि बन्द रहेको पाटन विमानस्थललाई स्तरोन्नति गरि पुनः सुचारु गर्ने गरी बजेट विनियोजन गरेको थियो । सोही अनुसार दुई बर्ष अगाडी विमानस्थल सञ्चालनको लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार पारिएको थियो ।

सोही डिपीआर अनुसार विमानस्थललाई स्तरोन्नति गरि पुनः सुचारु गर्न ठेक्का आह्वान गरेर स्तरोन्नतिको काम शुरु गरिएको हो । प्रदेश नं ७ सुदूरपश्चिममा कैलालीको गेटा विमानस्थल पछीको सवैभन्दा ठुलो पाटन विमानस्थल हो । ९ सय ५० मिटर धावनमार्गको लम्वाई रहेको यो विमानस्थल सुदूरपश्चिमको दोस्रो ठुलो विमानस्थलका रुपमा रहेको छ ।

स्थानीयबासी निरास

गएको असारमा सक्ने भनिएको कालोपत्रे गर्ने कार्य समयमा नसकिने भएपछि स्थानीयबासिन्दा भने निराश भएका छन् । विकास निर्माणका कामहरु तोकिएको समयमा सम्पन्न नहुँदा धेरै समस्या हुने गरेको नागरिकहरुको भनाई छ । विमानस्थल कालोपत्रे भई सञ्चालनमा आउने आश गरेको भएपनि कालोपत्रे समेत समयमै सम्पन्न नहुँदा निशासा छाएको स्थानिय कपिल केसीको भनाई रहेको छ ।उहाँले भन्नुभयो“आर्थिक अवस्था सुधार तथा पर्यटन प्रर्बद्धन गर्न सघाँउने आसा भएपनि निरासा छाउदै गएको छ ।”

पाटनमा २०३२ सालमा विमानस्थल निर्माण सुरु भई २०३५ सालदेखि कच्चीमै हवाई सेवा सुरु भएको थियो । २०५२ सालमा भने विमानस्थल बन्द भएको थियो । पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो । २०५८ सालमा तत्कालिन माओवादीले टावरमा आगो लगाएर ध्वस्त बनाएपछि विमानस्थल अलपत्र परेको थियो ।

पाटन विमानस्थल कालोपत्रे भएर सुचारु भएमा यस क्षेत्रको धामिर्क पर्यटनको विकास हुने धेरैले बताएका छन् । पाटन विमानस्थल सञ्चालनमा आएपछि धेरै कुरामा सुधार आउने स्थानीयहरुको विश्वास छ । विमानस्थल सुचारु भएमा भारतीय पर्यटक समेत आउने र व्यवशाय समेत फस्टायने पाटनका स्थानिय दिनेश विष्टको भनाई रहेको छ । प्रदेश नं ७ अर्थात सुदूरपचिमकै दोस्रो ठुलो बैतडीको पाटन विमानस्थल पुनः सञ्चालनको तयारीस्वरुप कालोपत्रे काम सुरु भएको हो ।

पर्यटकीय गन्तब्य बनाउन सकिने

नेपाल सरकारले घोषणा गरेको दश नमुना शहरमध्येको एक शहरमा पर्ने पाटनमा रहेको विमानस्थल सञ्चालन हुन सके झनै पर्यटकीय गन्तब्य बनाउन सकिने भएको छ ।

प्रदेश नं ७ (सुदूरपश्चिम)को पहाडी जिल्ला बैतडी, दार्चुला, डडेल्धुरा र बझांग जिल्लाको मध्यभागमा पर्ने पाटन बैतडीको मिनी सदरमुकाम भनेर परिचित छ । पर्यटकीय आकर्षणको मुख्य केन्द्रबिन्दु रहेको नेपालकै गहिरो गुफा पत्ताल भुमेश्वर , उदयदेव मन्दिर , त्रिपुरा सुन्दरी , निङ्गलाशैनी मन्दिर , ईश्वरी गंगा धाम , मेलौली भगवती मन्दिर , दोगडा धाम , रौलाकेदार मन्दिर , सिगास धाम लगायतका क्षेत्रमा पर्यटक भित्र्याउन सकिन्छ ।

विमानस्थल लाई सञ्चालन पछीे बैतडी सहितका जिल्लाको धार्मीक पर्यटकिय क्षेत्रहरुको महत्त्व बढने तथा सुदूर पश्चिमका जनताको नीवनस्तरमा परिवर्तन आउने स्थानिय कपिल के सी को भनाई रहेको छ । विमानस्थल पुनः सञ्चालन पछी ओझेलमा परेका पर्यटकीय क्षेत्रका विकासमा टेवा पुग्नेछ उहाले भन्नुभयो “ व्यापार व्यवसाय पनि फस्टाउने र भारतसंग सिमा जोडिएकाले भारतिय पर्यटक समेत भित्र्याउन सकिन्छ ।”

बैतडीमात्रै नभएर दार्चुला,डडेल्धुरा र बझाङका लागि समेत पाटन बीचमा पर्ने भएकाले यो विमानस्थल सुचारु भएमा प्रदेश नं ७ का पहाडी जिल्लाका नागरिक लाभान्वित हुने स्थानिय छवि राज जोशीले बताउनुभयो ।

दार्चुलाको अपि हिमाल, बझाङको साइपाल हिमाल, बैतडीका धार्मिक स्थलहरुको अवलोकन गर्ने पर्यटकहरुलाई भित्र्याउन समेत बैतडीमा रहेको विमानस्थल पाटन सुचारु गर्नु आवश्यक रहेको उहाँको भनाई छ । त्यसैगरी भारतसँग सिमा जोडिएको जिल्ला भएकोले व्यापारसमेत फस्टाउने देखिएको छ ।

बैतडी, दार्चुला, डडेल्धुरा र बझांग जिल्लाको मध्यभागमा पर्ने पाटन बैतडीको मिनी सदरमुकाम भनेर परिचित रहेको र पाटन विमानस्थल सञ्चालनमा आएपछी यस क्षेत्रको बिकास हुने विश्वास गरिएको छ ।

यस विमानस्थलका कार्यालयका भवनहरु तत्कालिन १२ बर्षे द्धन्दकालमा क्षतबिच्छेद भएका थिए । यसका साथै विमानस्थल पुन संचालन नहुँदा गौचरन, खेलमैदान तथा सवारी साधन सिक्ने मैदानमा परिणत भएको थियो ।

वास्तवमा करीब दुईदशकदेखि बन्द रहेको पाटन विमानस्थल सुचारुगर्न स्तरोन्नतीको काम शुरु हुनुमा आँफैमा खुशीको कुरा हो । तोकिएकै समयमा पाटन विमानस्थललाई कालोपत्रे नहुँनु राम्रो पक्ष होईन ।

विमानस्थल कालोपत्रेको काम सम्पन्न भएपछि मात्रै विमानस्थल पुनः सञ्चालनमा आउने भएकोले कालेपत्रेको काम गर्न लापरवाही नगरी स्तारोन्नतीको कार्य अगाडी बढाउनेपर्ने स्थानिय नागरिककको भनाई रहेको छ । पाटन विमानस्थल पुनः सञ्चालनमा आए प्रदेश नं ७ (सुदूरपश्चिम)को विकासमा टेवा पुग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्