बाजुरेली सम्झना, दुर्गम तर अथाह सम्भावना



शैलेन्द्र थापा
घर मेरो प्रदेश नम्बर ७, हे दिल खोलेर गरौं सुवा मीठा–मीठा पिरतीका बात’ विष्णु माझीको स्वरमा मीठो देउडा गीत बज्न शुरू गर्यो। साँझ करिब ६ बजेतिर होला। गन्तव्यमा पुग्न करिब २२ घन्टा यात्रा गर्नुपर्नेछ। त्यो २२ घन्टा यात्रा गर्नुअघि करिब २६ घन्टाको यात्रा गरी सकिएको छ।अर्थात् काठमाडौंबाट शुरू भएको यात्रा २ ठाउँमा बसको टायर पंचर भएर बनाउँदै कैलाली अत्तरीया पुग्दा करिब २४ घन्टा लागेको थियो भने त्यहाँबाट पुनः टीकापुर आउन अरू करिब २ घन्टा यात्रा गरियो। गर्मीको कुरै नगरौं जेठको महिना। अब बाँकी २२ घन्टा यात्रापछि पुगिनेछ सुदूरपश्चिमको जिल्ला बाजुरास्थित गौमुल गाउँपालिका। जहाँ करिब ३ हप्ताको कर्म पूरा गर्नु छ।

यात्रा रोमाञ्चित हुनेवाला छ। किनकि नयाँ ठाउँ नयाँ अनुभव बटुलिनेछ। पहाडी जिल्लामा जन्म भए पनि सामान्य सुगम हुदैं काठमाडौंसम्म आइपुगेको मलाई बाजुराका डाँडाकाँडा पक्कै सहज हुने छैन तर नयाँ ठाउँको परिचय र घुमफिर कम्ती रमाइलो छैन। हुन त यसअघि पनि गोरखा आरुघाटदेखि गोरखाको दुर्गम गाउँ सिर्दिवाससम्म हिँडेको र पाँचथरको सबैभन्दा उत्तरी गाविस फलैंचासम्म हिँडेरै पुगेको अनुभव नभएको होइन।त्यस्तै अग्ला डाँडा र पहाडले पक्कै आज पनि मन लोभ्याउनेछ भन्ने लागिरह्यो। तर नाइट गाडीमा दश्य कम देखिएला।रातभरि सँगैको टोली उत्साहित छ।ल उज्यालो भएछ र गाडीले पुर्याएछ अछामको साँफेबगर बजार।‘अब नास्ता यहीं गरौं खाना बाजुरा सदरमुकाम मार्तडीमा’ –सँगै गएका सुदूरपश्चिम घर हुने अनुभवी सहकर्मीहरूले सुझाए।

साँफेबगरबाट अघि बढेको यात्रा। साँघुरो बाटो डरलाग्दा पहाड। मनमोहक फाँट अनि पर क्षितिजसम्म देखिएको गाउँ बस्ती हेर्दै पुगियो मार्तडी। सदरमुकाम जोड्ने बाटो अझै पिच हुन सकेको रहेनछ। बाइरोडको बाटोमा धुलो उडाउँदै भनेजस्तै ठूला गाडी मुस्किलले धुलो उडाउँदै सदरमुकाम प्रवेश गर्ने रहेछन्। गन्तव्य अझै आएको छैन।अब जिपमा झन्डै अढाइ घन्टा जानु छ। गौमुल गाउँपालिका पुग्न जिप त चढियो तर आङ नै सिरिंग हुने भीरैभीरको यात्रा एक ढंगले यो ५० र ५२ घन्टाको यात्रामा कहाँ पुगियो जस्तो पनि लाग्यो।

जिपबाट ओर्लिएर केही मिनेटको यात्रापछि पुगियो सानो बजार घटमुना। ओहो सानो बजार छ, बस्नुपर्ने झन्डै ४ दर्जन मान्छे, कसरी पो व्यवस्थापन गर्ने हो? भन्ने तनावको स्थिति आयो। आखिर सहयोगी मन पूर्व मेचीदेखि पश्चिम महाकाली र उत्तर हिमालदेखि दक्षिण तराईसम्म नभएको कहाँ छ र ? त्यस्तै सहयोगी भेटिए स्थानीय लालबहादुर थापा दाजु। ‘यो पानी किन खल्लो?’ –मैले प्रश्न गरे। ‘किन हुनु नि जडिबुटी मिसिएको पानी त्यसैले’ –लालबहादुर दाजुको यो भनाइ साँच्चै सत्य थियो। जडिबुटी खोज्न टाढा जानुपर्दैन, घर वरिपरि प्रशस्त छन् वा भनौं बाजुरा जडिबुटीको खानी हो। अनि त्यहाँको लोकल चामल, भाँगो (अचार खाने तिलजस्तै खाद्यान्न) परम्परागत कोलमा पिसिएको तोरीको तेल, अनि बूढीगंगा नदीको चिसो पानीमा खेलेको माछा, यी अब दैनिक भोजनजस्तै भए। हाँगाले धान्न नसक्ने गरी फलेका पुलम (आरुबखडा) जडिबुटी मिसिएको पानी आदि सम्झनलायक थिए।

अलि–अलि भाषागत समस्या परेकै हो तर पनि दिन रमाइलो बित्दै छ। तर आपत त बल्ल पो पर्यो, फोन सम्पर्क नहुने रहेछ। बल्ल–बल्ल नेटवर्क टिपे पनि आवाज प्रष्ट नसुनिने। फोनमा र सामाजिक सञ्जालमा झुन्डिरहनुपर्ने मलाई अब दैनिकी गजब लाग्न थाल्यो। तर यसबीचमा अब गफिने मेसो मिल्यो उपसेनानी विजय निरौला, प्रहरी निरीक्षक नन्दबहादुर साउद र जमदार पुष्प बस्नेतसँग। लगभग हाम्रो उमेर उस्तै।त्यसैले अब दैनिक भेटघाट र उमेरअनुसारको गफ, दैनिकी रमाइलो छ र सहकर्मी सशस्त्र प्रहरी नायव निरीक्षक कृष्ण थापा व्यवस्थापनमा अब्बल र अनुशासित देखिए।

बीचमा यात्रा गर्नु छ मानाकोटतर्फको। फेंदीमा पुगेपछि डरलाग्दो डाँडातर्फ संकेत गर्दै मैले भने– ‘अब बाटो खोइ?’ ‘यो भीरैभीर हिँड्ने हो सर’ –कृष्णले सुझाए। त्यो उकालो। त्यो भीर अनि पाइताला मात्र अट्ने गोरेटो बाटो। देख्दै डरलाग्दो तर प्यासले सुकेको मुखमा केही राहत मिल्यो लटरम्म फलेको चुत्रो अनि स्थानीय बारीमा फलेको पुलम (आलुबखडाले) ले।

वास्तवमा बाजुरा दुर्गम छ तर अथाह सम्भावना छ। पूर्वाधार गाउँ–गाउँसम्म पुर्याउने स्थानीय प्रयास स्वागत योग्य छ। धेरै गाँउका गैरसरकारी संस्थासमेतको पहलमा खानेपानी, विद्यालय आदि व्यवस्थित गर्ने प्रयास भएको छ। जडिबुटीको भण्डार छ, तर अति दुर्गमको जनजीवन प्रत्यक्ष भोग्ने यो अवसरमा सामान्य स्वास्थ्यका लागि डरलाग्दा पहाड छिल्नुपर्ने बाध्यता छ।

हुन त भूबनोट नै त्यस्तै हो, माथि डरलाग्दा पहाड, तल एकनासले बगेको बूढीगंगा नदी, खुट्टा थोरै चिप्लियो भने बाँच्ने आश कम हुने, त्यस्तो गोरेटो बाटोको दैनिकी पक्कै सहज छैन। करिब ३ हप्ताको बसाइँमा एउटा कुराचाहिँ मनमा लागिरह्यो– ‘हावापानी, वातावरण, खाना नमिलेर बिरामी परियो भने ?’ तत्काल उपचार त्यति सहज छैन।तर मनै लोभ्याउने डाँडा, बूढीगंगाको कञ्चन पानी, स्थानीय आत्मियता, लालबहादुर दाइको पूरै परिवारसँग निकटता आदि सम्झनलायक रहे।

अहो हिँड्ने दिन आएछ अब कर्म पूरा गरेर। कर्म पनि अति सफल रह्यो।हिँड्ने दिनमा अक्षता र फूलमालासहित बिदाइ गर्न उर्लिएका स्थानीयको भीड देख्दा लाग्थ्यो वास्तवमै मिसन सफल भयो। हाम्रो व्यवहार र बोली अनि काम गर्ने शैली र सहयोग त्यसबेला प्रमाणित भयो जब केही स्थानीय बिदाइको क्षणमा आँसु झार्न थाले। तब बिदाइको क्षण अलि निःशब्द र स्तब्ध हुन पुग्यो।देश सेवाका दौरानमा जहाँ–जहाँ पुगियो, त्यहाँ–त्यहाँका स्थानीय जनतासँग आत्मियता साँच्चै सम्झनलायक छन्। त्यसैले त आजसम्म बाजुरादेखि फोन आउने क्रम जारी छ। भीरको बाटो ट्याक्टरको यात्रा, कहीं ट्याक्टरबाट ओर्लिंदै, कहीं ट्याक्टर ठेल्दै अब फर्कनु पर्नेछ जसरी पनि।

रातको यात्रा गर्दै डोटीको दिपायल अनि पुरानो बस्ती सिलगढी हुँदै शैलेश्वरी दर्शन गर्दा बिहान पो भएछ। आहा ! ती डोटीका डाँडा, गुराँस घारी, जरायलको चामल आदि।अब पहाडको चिसो विस्तारै गर्मीमा परिणत हुँदै छ। किनकि कैलाली पुग्न लागियो। टीकापुरदेखि धनगढी एयरपोर्टसम्म झन्डै १ सय किमिको बाटो, पूरै बाटो मुसलधारे वर्षा, कृष्णले हाँकेको बाइकले बडो कष्टपूर्ण ढंगले पुगियो। उनको यो सहयोग अझै स्मरणीय छ। एयरपोर्ट पुग्दा लगाएको कपडा पूरै भिजेको, फेर्ने कपडा पनि छैन, फेरि त्यही चिसो टी–सर्ट निचोरेर लगाइयो। त्यो पनि एक प्रकारको रामाइलो अनुभव भन्ने लाग्यो।

त्यो बाजुरेली सम्झना, ती डाँडाकाँडा, त्यो भीरको बाटो, ट्याक्टर र जिपको यात्रा, स्थानीयको आत्मियता सबै–सबै स्मरणमा ताजै छन्। आखिर जहाँ पुगे पनि इमानदार र जिम्मेवार कर्म पूरा गर्नु छ।

प्रतिक्रिया दिनुहोस्