पाँच सहसचिव कामविहीन, मानवस्रोत विकास केन्द्रको महानिर्देशकमा पौडेल



ईश्वरराज ढकाल, काठमाडौं
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका ५ सहसचिव कामविहीन भएका छन् । उही दर्जाका ६ सहसचिवमध्ये मन्त्रालयले १ जनालाई मात्र जिम्मेवारी दिएर अन्यलाई काम विहीन बनाएको हो ।

नयाँ गठन भएको शिक्षा तथा मानवस्रोत विकास केन्द्रको महानिर्देशकमा तत्कालीन शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेललाई जिम्मेवारी दिएपछि बाँकी रहेका ५ सहसचिव कामविहीन भएका हुन् ।

केन्द्र गठन भएको १० दिन पुगिसक्दा समेत मन्त्रालयले ती सहसचिवलाई कुनै काम दिएको छैन । ‘अहिले त कार्यालय आयो, पुरानै कार्यालयमा बस्यो, हाजिर ग¥यो फर्कियो, यसरी नै हाम्रो दिनचर्या चल्न थालेको छ’ –कामविहीन भएका एक सहसचिवले नेपाल समाचारपत्रसँग भने ।

कामविहीन भएलगत्तै ४ सहसचिवको बैठकले तत्काल कामको बाँडफाँडसहित जिम्मेवारी दिन मन्त्रालयलाई आग्रह गरेका थिए । सह–सचिवबीच यही साउन २ गते भएको निर्णय मन्त्रालय पुगेलगत्तै मन्त्रालयले विघटन भएका निकाय शैक्षिक जनशक्ति विकास केन्द्र, अनौपचारिक शिक्षा केन्द्र र शिक्षा विभाग आफैं समन्वय गरी काम गर्न निर्देशन दिएको थियो ।

तर मन्त्रालयले साउन ४ गते शिक्षामन्त्रीको कार्यकक्षमा भएको बैठकले केन्द्रको महानिर्देशकको जिम्मेवारी पौडेललाई दिएको पत्र पठाएको थियो । अन्यलाई भने जिम्मेवार विहीन बनाएको थियो।

एउटै संरचना अनुसार अन्य सहचिवलाईसमेत जिम्मेवारी दिनुपर्ने अवस्थामा ४ सहसचिवलाई पेन्डुलम बनाउनु मन्त्रालयको खराब नियत देखिएको मन्त्रालयको कर्मचारीले आरोप लगाएका छन । शिक्षा मन्त्रालय अन्तर्गत २२ सहसचिव छन् ।

अहिले केन्द्रमा महानिर्देशक पौडेल एक्लैले काम गरिरहनुभएको छ । कामविहीन भएका सहसचिव दीपक शर्मा, टेकनारायण पाण्डे, खगेन्द्र नेपाल, चूडामणि पौडेल र मन्त्रालय तानिनुभएका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मी कामविहीन भएका छन् ।

मन्त्रालयले महानिर्देशकलाई दिएको पत्रमा साविकका अन्य पदको हकमा नयाँ संगठन संरचना बमोजिम सेवा श्रेणी अनुसार मिल्दो पदनाम अनुसार हुने गरी कामकाज गर्न गराउन उल्लेख गरेको थियो । ‘सहसचिवकै हैसियतमा रहेका महानिर्देशकले सहसचिवहरुलाई कसरी पदअनुसार काम गराउन भनी निर्देशन दिन मिल्छ ? मन्त्रालयले सहसचिवको अधिकार नै नबुझी पत्र पठाएपछि झन् समस्या बढेको छ’ –एक सहसचिवले भने ।

अहिले केन्द्रमा महानिर्देशक पौडेल एक्लैले काम गरिरहनुभएको छ । कामविहीन भएका सहसचिव दीपक शर्मा, टेकनारायण पाण्डे, खगेन्द्र नेपाल, चूडामणि पौडेल र मन्त्रालय तानिनुभएका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मी कामविहीन हुनुभएको छ । कुनै जिम्मेवारी नदिएर पेन्डुलम बनाएको आरोप सबै सहसचिवको छ । बेकाम भएका सबै सहसचिवले किटानका साथ कामको जिम्मेवारी दिन माग गरेका छन् । कुन निकायको जिम्मेवारी दिने भन्ने विषयमा मन्त्रालयले किटान नगर्दा समस्या परेको कर्मचारीको आरोप छ ।

हाल गठन भएको केन्द्रको नयाँ संरचना अन्तर्गत शैक्षिक योजना तथा विकास महाशाखा, शैक्षिक प्रविधि तथा अनौपचारिक शिक्षा महाशाखा र मानव संशाधन महाशाखा छन् । नयाँ संरचनामा १७ शाखा छ । ती महाशाखामा सहसचिवको दरबन्दी रहने व्यवस्था भए पनि मन्त्रालयले हालसम्म कुनै सहसचिव खटाएको छैन ।

परीक्षा नियन्त्रण कार्यालयबाट मन्त्रालयमा फिर्ता बोलाइएका परीक्षा नियन्त्रक सहसचिव रेग्मीलाई कुनै जिम्मा दिइएको छैन । उहाँको दैनिकी पनि मन्त्रालय जाने हाजिर गर्ने र फर्किने रहेको छ । एसईई परीक्षामा भएको त्रुटिको विषयमा गठित छानविन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक नगरी लुकाएको मन्त्रालयले सो घटनामा अन्यलाई कारबाही गर्ने हिम्मत गरेको छैन । शिक्षा मन्त्रालयका प्रवक्ता वैकुष्ठ अर्यालले सहचिवलाई जिम्मेवारी दिने विषयमा छलफल भइरहेको बताउनुभयो । उहांले भन्नुभयो – ‘केही दिनमै सबैलाई जिम्मेवारी दिइनेछ ।’

प्रतिक्रिया दिनुहोस्