हुलास र जगदम्बा स्टिलमा आगलागी



नेपाल समाचारपत्र, बारा
जिल्लाको सिमरास्थित हुलास स्टिल इन्डष्ट्रिज र जगदम्बा स्टिल इन्डष्ट्रिजमा शनिबार अपरान्ह आगलागी भएको छ । जीतपुर सिमरा उपमहानगरपालिका १ स्थित हुलास स्टिल र वडा नम्बर २ स्थित जगदम्बा स्टिल इन्डष्ट्रिजमा भएको अगलागी भएको हो ।

हुलासमा भएको आगलागीबाट जस्तापाता उत्पादन गर्ने प्लान्टको मेसिनमा क्षति पुगेको छ भने जगदम्बाको वायर प्लान्टमा क्षति पुगेको छ । दुवै उद्योगमा अपरान्ह सवा ५ बजे आगलागी भएको थियो । आगलागीबाट हुलास स्टिलमा करोडौंको क्षति भएको अनुमान उद्योग प्रशासनले गरेको छ ।

यद्यपिको क्षतिको यकिन विवरण आइसकेको छैन । ‘जस्ता प्लान्टको मुख्य मेसिनमा क्षति पुगेको छ, उद्योगलाई करोडौंको नोक्सानी पुगेको छ’ उद्योगका सहायक प्रमुख सुनील मनोटले भन्नुभयो । क्षतिको यकिन विवरण संकलन गर्न बाँकी रहेको मनोटले जानकारी दिनुभयो ।

विद्युत सर्ट भएर आगो लागेको अनुमान उद्योग प्रशासनले गरेको छ । तर, आगलागीको कारण खुल्न नसकेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सुवास हमालले बताउनुभयो ।

यस्तै जीतपुर सिमरा उपमहानगरपालिका २ स्थित जगदम्बा स्टिल इन्डष्ट्रिजमा शनिबार अपरान्ह भएको आगलागीबाट उद्योगको वायर प्लान्टमा क्षति पुगेको छ ।

उद्योगका प्रशासकीय अधिकृत कुमुद ढकालका अनुसार वायर प्लान्ट नजिक रहेको डिजल ट्यांकीमा आगो लाग्दा वायर प्लान्टमा समेत क्षति पुगेको हो । क्षतिको यकिन विवरण नआए पनि उद्योग प्रशासनले ५० लाखभन्दा बढीको क्षति भएको जनाएको छ ।

हुलास स्टिलमा लागेको आगो जीतपुर सिमरा उपमहानगरपालिका, नेपाल आयल निगम अमलेखगञ्जको बारुण यन्त्रले करिब डेढ घण्टापछि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सुवास हमालले जानकारी दिनुभयो । यस्तै जगदम्बा स्टिलमा लागेको आगो वीरगञ्ज महानगरपालिकाको बारुण यन्त्रले नियन्त्रणमा लिएको थियो ।

दुवै उद्योगमा करिब एकै समयमा आगो लागेपछि आगो नियन्त्रणमा खटिने उद्दारकर्मी र बारुणयन्त्रलाई समेत समस्या परेको थियो । आगो नियन्त्रणमा सशस्त्र प्रहरी बल औद्योगिक सुरक्षा गुल्म र इलाका प्रहरी कार्यालय सिमराका सुरक्षाकर्मीहरु खटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्