“भाग्यले बाँचेकाहरू”लाई फेरि सम्मान



२०७२ सालको विनाशकारी भूकम्पका विषयमा निर्माण गरिएको वृत्तचित्र फिल्म भाग्यले बाँचेकाहरू (नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एन्ड मिराकल्स) का निर्देशक गणेश पाण्डेलाई अमेरिकामा सम्मान गरिएको छ।

पाण्डेका अनुसार अमेरिकी सरकारको न्युजर्सी सिटी काउन्सिलले उनलाई सम्मान गरेको हो। नेपालको भूकम्पका विषयमा बहुचर्चित फिल्म बनाएर विश्वको ध्यान नेपालमा खिच्न सफल भएको र १७ वटा अवार्ड जितेको भन्दै निर्देशक पाण्डेलाई सम्मान गरिएको न्युजर्सी सिटी काउन्सिलका प्रेसिडेन्ट रोलान्डो लाभारोबाट हस्ताक्षरित सम्मानपत्रमा उल्लेख छ। न्युजर्सी सिटीकी सल्लाहकार डा. विष्णुमाया परियारले न्युयोर्कमा आयोजित भाग्यले बाँचेकाहरूको प्रदर्शनीमा प्रेसिडेन्ट लाभारोका तर्फबाट निर्देशक पाण्डेलाई सम्मानपत्र हस्तान्तरण गरेकी थिइन्। न्युजर्सी सिटीबाट यो विशेष सम्मान पाउने निर्देशक पाण्डे पहिलो नेपाली फिल्ममेकर भएको सल्लाहकार डा. परियारले बताइन्।
न्युयोर्कमा युनाइटेड शेर्पा एसोसिएसन र यूएसनेपाल अनलाइनले संयुक्तरूपमा भाग्यले बाँचेकाहरूको प्रदर्शन गरेका थिए।

१७ अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भाग्यले बाँचेकाहरूले बेलायतको संसद्मा समेत प्रदर्शन हुने पहिलो नेपाली डकुमेन्ट्रीको इतिहास राखेको छ। ३२ भन्दा बढी देशमा प्रदर्शन भइसकेको यो वृत्तचित्र १३ अन्तर्राष्ट्रिय भाषामा अनुवाद भइसकेको छ।

साइन मिडिया प्रालिका तर्फबाट शारदा गैरेले निर्माण गरेको यस डकुमेन्ट्रीको छायांकन विनोद विष्ट, सम्पादन कुमार शाह, संगीत जुगल डंगोल, लेखन सपना शाक्य र दीपक कोइरालाले गरेका छन् भने अमेरिकन फिल्मकर्मी जोजाय हुपरले परामर्शदाता सम्पादकका रूपमा काम गरेका छन्।

प्रतिक्रिया दिनुहोस्