मुग्लिन–नारायणगढ जोखिम कहिलेसम्म ?



नेपालमा सधै ब्यस्त रहने राजमार्गमध्येको नारायणगढ मुग्लिङ सडक सधै जोखिमपूर्ण हुँदै आएको छ । तीन वर्ष अगाडिदेखि सुधारको क्रममा रहेको नारायणगढ मुग्लिङ सडक खण्डका कारण उक्त बाटो भएर यात्रा गर्न यात्रुहरु ज्यानको बाजी थापेर भगवान भरोसामा यात्रा गर्नु परेको छ । पटक पटक म्याद थप गर्दै सडक विस्तारमा भइरहेको उक्त सडकमा दुर्घटनाका साथै पहिरोका कारणले यात्रुहरुलाई थप पीडा थप्दै आएको छ ।

सडक सुधारको काम सुरु भएएता असार तेस्रो सातासम्म उक्त सडकमा दुर्घटना तथा पहिरोका कारण एक सय जना भन्दा बढीले ज्यान गुमाइसकेको समाचार न्यूज अफ नेपालमा आएको थियो । सवारी साधनको तीव्र गति, सडकको बिग्रिएको अवस्था तथा सवारी साधनको अवस्थाका कारण दुर्घटना हुँदा यात्रुहरुले अकालमा नै ज्यान गुमाउँदै आएका हुन् ।

नारायणगढ मुग्लिङ सडकको आँपटारीदेखि मुग्लिङसम्मको करिब ३३ किलोमिटर सडक तीन खण्डमा गरेर निर्माण गर्ने काम भइरहेको छ । सडक विस्तारको लागि पहाड काटिदा यो सडकमा पहिरोको जोखिम झनै बढ्दै गएको छ । बैज्ञानिक ढंगले काम नगर्दा र अवैज्ञानिक तरिकाले पहाड काट्दा सामान्य वर्षात् हुँदा समेत पहाडको ढिस्को खस्नाले यातायात अवरुद्ध हुनुका साथै कति बेला को माथी पहिरो बजारिने हो भन्न सक्ने अवस्था छैन । हालसम्म ९४ प्रतिशत काम पुरा भएको उक्त सडकको सबै भाग कालोपत्रे भइसकेको अवस्थामा चालकले समेत सवारी साधनलाई तीव्र गतिमा चलाउने गरेका छन् ।

उक्त सडकमा चालकले आफ्नो सवारी साधनको गतिलाई नियन्त्रण गर्दै दुर्घटनाबाट जोगिनु आवश्यक छ । पहाड काट्दा थर्किएको ठाउँबाट हिलो तथा सुख्खा पहिरो खसेर यातायात अवरुद्ध हुनुका साथै सडक निर्माण भएसँगै पहिरोका कारण सवारी साधनमा क्षति पुग्नुका साथै मानवीय क्षति समेत भएको थियो । अहिले पनि मनसुन सुरु भएसँगै उक्त सडक पहिरोको जोखिममा रहेको छ । विभिन्न समयमा पहिरो गएर सडक अवरुद्ध हुने गरेको छ भने सचेतना अपनाउन सकिएन भने यो सडकमा मानवीय क्षति समेत हुने देखिन्छ ।

यात्रा गर्ने क्रममा सवारी चालक तथा अन्य यात्रुहरुले सावधानी अपनाउँदै दुर्घटनाबाट जोगिन सकियो भने धन र जनको क्षतिबाट बच्न सकिन्छ । सकेसम्म मुग्लिङ नारायणगढ सडकको विकल्पमा अन्य सडक प्रयोग गर्ने, पानी परेको समयमा उक्त सडक प्रयोग नगर्ने हो भनेपनि सुरक्षित हुन सकिन्छ । सरकारले बैज्ञानिक ब्यबस्थापनमा ध्यान दिन जरुरी देखिएको छ । बजेट सक्नलाई कार्यक्रम लगेर मात्रै हुँदैन । बैज्ञानिक ब्यबस्थापनमा ध्यान दिए नारायणगढ मुग्लिङ सडक पक्कै ढुक्कसँग यात्रा गर्न सक्ने हुनेछ ।
– सुभद्रा केसी, नारायणगढ ।

प्रतिक्रिया दिनुहोस्