पर्याप्त वर्षा नहुँदा सप्तरीका किसान समस्यामा



सुरेश झा, सप्तरी ।
पर्याप्त वर्षा नहुँदा सप्तरीका किसानलाई अहिले धान रोपाइँका लागि समस्या भएको छ ।

समस्या समाधानका लागि सिंचाइ व्यवस्थापन गर्न यतिखेर नहरमा पानी छाडिएको छ । असार १५ गतेबाट धान रोपाइँ शुरु भए पनि आकासेपानी नपरेपछि जिल्लामा उत्साहजनक रुपमा धान रोपाइँ हुनसकेको थिएन । रोपाइँ भएका धान पनि सुक्न थालेपछि अहिले सिँचाइका लागि नहरमा पानी छाडिएको छ ।

कोशीपम्प चन्द्रनहर सिंचाइ व्यवस्थापन डिभिजन कार्यालय सप्तरी राजविराजद्वारा पम्पनहर प्रणाली, वितरण नहर प्रणाली र चन्द्रनहर प्रणालीअन्तर्गतका नहर तथा उपनहरमा पानी छोडिएपछि अहिले जिल्लाका किसान धान रोपाइँमा व्यस्त भएको डिभिजन प्रमुख प्रशुन मिश्राले जानकारी दिनुभयो ।

सप्तरीमा ७० हजार हेक्टर जमीनमा धानखेती हुँदै आएको छ । तीमध्ये ३५ हजार हेक्टर जमीनमा चन्द्र नहरको तीनवटै प्रणालीबाट सिँचाइ सुविधा प्राप्त भइरहेको छ ।

गत साउनको अन्तिम सातामा आएको भीषण बाढी र पहिरोबाट पूर्णरुपमा क्षतिग्रस्त एवं कटानमा परेका नेपालको सबैभन्दा पुरानो चन्द्रनहर सिँचाइ प्रणाली९आयोजना० को मर्मतसम्भार भएपछि त्यसमा पानी छोडिएको छ । मर्मत सम्भारका लागि रु २० करोड खर्च भएको आयोजनाले जनाएको छ ।

तर विद्युत्को अनियमितताका कारण पम्प सञ्चालन गर्न नपाउँदा पानी छाड्न समस्या भइरहेको प्रमुख मिश्राको गुनासो छ ।

सो तीन प्रणालीले नेपाल विद्युत् प्राधिकरण राजविराजलाई विद्युत् प्रयोगबापत वार्षिक रु एक करोड भुक्तानी गरेको बताइएको छ ।

गत साउनमा आएको बाढीले चन्द्रनहर, वितरण नहर र पम्प नहरमा तोडफोड गरी रु ४३ करोड बराबरको क्षति पु¥याएको थियो । जसका कारण मुख्य तथा सहायक नहर एवं हेडवक्र्स क्षतिग्रस्त, बालुवा तथा माटो नहरमा पुरिएको ,लाइनिङ टुटफूट भएको, प्लान्ट, जेनेरेटर, पाइप तथा मेसिनरी सामग्री र अन्य भौतिक पूर्वाधार पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो ।

कार्यालयका अनुसार चन्द्रनहर प्रणालीबाट १० हजार ५०० हेक्टर जमीन, पम्प नहर प्रणालीबाट १३ हजार हेक्टर जमीन र वितरण नहर प्रणालीबाट ११ हजार हेक्टर गरी कूल ३४ हजार ५०० हेक्टर जमीनमा सिँचाइ हँुदै आएको छ ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख भगिरथ यादवका अनुसार वर्षात्को पानी नहुँदा किसानले नहर र बोरिङबाट धानको रोपाइँ गरिरहेका छन् ।

सप्तरीमा अहिलेसम्म २५ प्रतिशत धान रोपाइँ भएको अनुमान जिल्ला कृषि विकास कार्यालयको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्