दुर्घटना रोक्न ट्राफिक प्रहरी सक्रिय



बारा (नेस)
बढ्दो सवारी दुर्घटना न्यूनिकरणका लागि प्रदेश नम्बर २ प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया बाराले बुधवारबाट सवारी निरिक्षण तथा सचेतना कार्यक्रम सुरु गरेको छ ।
सवारी साधानको दुरावस्था र चालकको लापर्वाहीका कारण हुने दुर्घटना न्युनीकरण गर्न प्रदेश नम्बर २ को ट्राफिक प्रहरीले बाराको अमलेखगंजबाट अभियान शुरु गरेको हो ।

अभियान अन्तरगत ट्राफिक प्रहरी तथा अटो मोवाइल कम्पनीका प्राविधिक सहित टोलीले राजमार्गमय गुडिरहेका यात्रुबहाक सवारी साधनको प्राविधिक रुपमा चेकजाच गर्नुको साथै सुरक्षित यात्राको लागि चालक तथा यात्रुहरुलाई परामर्श समेत दिएका थिए । एम.बी.दुगड ग्रुप बिवेक अटो मोबाईल प्रालि बाराका मर्मत सम्भार शाखा प्रमुख अजित कुमार मिश्र नेतृत्वको टोलीले सवारी चेकजाच गर्नुको साथै समान्य मर्मत समेत गरेको थियो ।

चेकजाँच क्रममा अधिकांश टाटा सोमु र यात्रु बसकोे टायर कमजोर रहेको र क्षमता भन्दा बढी यात्रु बोकेको तथा प्राविधिक रुपमा सवारीलाई चुस्त दुरुस्त नराखेको पाईएको प्रविधिक मिश्रले जानकारी दिए । उनले चेकजाच गरिएका ३ सय सवारी साधान मध्ये ४० प्रतिशत सवारीको अवस्था खराब पाइएको जानकारी दिए ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर २ पथलैयाकी प्रहरी उपरिक्षक किरण बज्राचार्यले बिगतमा प्रहरीले गर्दै आएको भन्दा पृथकरुपमा सवारी निरीक्षण र परामर्श दिने अभियान शुरु गरेको बताइन । ‘नियम अनुसार नचलेका सवारीलाई पनि दण्ड जरिवाना गरिएको छैन, बज्राचार्यले भनिन, चालकलाई सचेत तुल्याएर दुर्घटना न्युनीकरणलाई दीगो र प्रभावकारी पार्न अभियान शुरु भएको हो ।’

उनले चेकचाजको क्रममा फेला पारिएका सबै त्रुटी टिपोट गरी सम्बन्धित चालकलाई बुझाइएको र एक साताभित्र सुधार गर्न अनुरोध गरिएको पनि जानकारी दिइन । ‘सबै विषयमा राम्ररी सम्झाई बुझाइ गरी पठाइएको छ, उनले भनिन, अर्को चेकजाचमा कार्यान्वयन गरेको नपाइए थप कारवाही अघि बढाइने छ ।’ चालक र यात्रुहरुले पनि प्रहरीको यो अभियानको प्रशंसा गरेको बताइन ।

उनले चालक र यात्रु दुबैलाई प्रहरीप्रति आश्वस्त तुल्याउन र दुर्घटना न्युनीकरण गर्न अभियान प्रभावकारी देखिएको पनि बताइन । प्रहरीले प्रत्येक दुई सातामा प्रदेश २ का ८ वटै जिल्लामा पर्ने राजमार्गहरुमा नियमित सवारी चेकजाच र परामर्श दिने कार्य जारी राखिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्